गृह पृष्ठ

सुन्दरीजलमा प्रेम सम्बन्धका कारण महिलाको हत्या,दुई जना पक्राउ


२३ भाद्र २०८१, आइतबार ००:००


काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जनालाइ प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताएका छन ।

सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव भेटिएको थियो । प्रहरीका अनुसार उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला हुन । सुरुमा नामसहितका विवरण नखुलेपनि प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरु शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ परेका हुन् ।

मृत्यु हुनेमा सिराहाकी राम दुलारी भएको भन्ने बुझिएको छ । यद्यपि, हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् । प्रारम्भिक जाँचका क्रममा हत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने आशंका गरिएको छ । थप अनुसन्धान भइरहेको अधिकारीले बताएका छन ।

प्रकाशित : २३ भाद्र २०८१, आइतबार ००:००