गृह पृष्ठ

सोलुखुम्बु सदरमुकाम क्षेत्रमै ग्यारेजको मनोमानी, ठगिदै सेवाग्राही…


२१ श्रावण २०८०, आइतबार ००:००


सोलुखुम्बु सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रमा सञ्चालित मोटर ग्यारेजहरु (वर्कशप)को मनोमानीका कारण नागरिक ठगिने क्रम मौलाएको छ । ति ग्यारेजहरुले आफुखसी मोटरपार्टहरु बिक्री गर्दै सेवाग्रहीलाई ठग्ने गरेको गुनासो बढेको हो । सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रहरुमा करिब एक दर्जन मोटर ग्यारेजहरु सञ्चालनमा छन् ।

ति ग्यारेजहरु मध्ये कतिपय लामो समयदेखि सञ्चालनमा छन् भने कतिपय पछि खुलेका पनि छन् । जसमा मोटरसाईकल तथा स्कुटरका ग्यारेजहरु धेरै छन् । यहाँ खुलेका कतिपय ग्यारेजहरु सेवा दिन बसेका छन् भने कतिपय व्यवसायको नाममा ग्राहक ठग्ने कार्यमा समेत संलग्न हुने गरेको ग्राहक सुनिल प्रधानले गुनासो गर्नुभयो ।

केहि ग्यारेजहरु नियम संगत सञ्चालनमा छन् भने कतिले नियम विपरित ढंगबाट समेत सञ्चालन गरेको पाइएको छ । यहाँ सञ्चालित ग्यारेजहरुले लिने सामाग्रीहरुको मुल्यमा एकरुपता पटक्कै छैन् । जसले गर्दा सोझासिधा सेवाग्राही ठगिने गरेको अर्का सेवाग्राही ल्हाक्पा शेर्पाले गुनासो गर्नुभयो ।

आफुखुसी मुल्य लिने क्रम बढ्दा सेवाग्राही मर्कामा परेका छन् । बजार क्षेत्रमा तिब्र रुपमा खुलिरहेको ग्यारेजहरुबारे अनुगमन नहुँदा मनोमानी हुने गरेको सल्लेरीकै एक ग्यारेज सञ्चालक राजन श्रेष्ठ स्विकार गर्नुहुन्छ । सल्लेरीसहित आसपासका क्षेत्रका ग्यारेजहरुमा एउटै सामाग्रीहरुको मुल्य समेत फरक फरक भएको गुनासो आफु कहाँ पनि आएको उहाँको भनाई छ ।

सदरमुकामकै सल्लेरी बसपार्क लाईनमा सञ्चालित आलम ग्यारेजले मोटर साईकल तथा स्कुटर मर्मतको काम गर्दै आएको छ । तर सो ग्यारेजले एउटा मोटर पार्टमा निश्चित मुल्य भन्दा ६० प्रतिशत सम्म बढी असुल्ने गरेको तथ्य फेला परेको छ । ४ सयदेखि ४५० रुपैयाँ सम्म पर्ने मोटरसाईकलको एउटा पार्टको मुल्य यस ग्यारेजले ११ सय रुपैयाँ सम्म लिने गरेको पाइएको छ ।

उनीहरुले मोटरपार्टसमा प्रिन्ट भएर आएको मुल्यलाई मेटेर तथा कोट्यार फाल्ने गरेका छन् भने सोही सामाग्रीको मुल्य ३ दोब्बर सम्म बढी लिने गरेको भेटिएको छ । ग्यारेज सञ्चालक मोति उरर हमान आफुले सुरुमा केहि महँगो मुल्य भनेपनि पछि घटाएर बिक्री गर्ने गरेको बताउनुहुन्छ । सामाग्री र ज्यालासहित जोडेर बढी मुल्य पर्ने भएकाले आफुहरुले बढी लिने गरेको उहाँको तर्क छ । आलम ग्यारेज त एक प्रतिनिधि मात्रै हुन् । जिल्ला सदरमुकाममै सञ्चालित मोटर ग्यारेजहरुले एउटै सामाग्रीको मुल्य समेत मनोमानी लिने गरेको सर्वसाधरणको गुनासो छ । तर यहाँका ग्यारेजहरुमा अहिले सम्म न कसैले निगरानी गरेको छ न त कुनै निकायले अनुगमन नै गरेको छ ।

त्यहि मौका छोपेर कतिपय ग्यारेजहरुले ग्राहक ठग्ने गरेको पाइएको छ । यसलाई नियन्त्रण गर्न प्रशासन निर्मम ढंगले अघि बढ्ने प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईले बताउँनुभयो । स्थानीय तह र घरेलु कार्यालयसँग समन्वय गरेर आफुहरु अघि बढ्ने प्रजिअ भट्टराईको भनाई छ । नगर क्षेत्रभित्र सञ्चालित उद्योग धन्दा तथा कलखारखानाको नियमन तथा नियन्त्रण गर्ने दायित्व स्थानीय सरकारकै हो ।

सोलुदुधकुण्ड नगरपालिकाले ग्यारेजहरुमा बिक्री हुने साामाग्रीको मुल्य एकरुपता तथा ग्यारेज व्यवस्थापन गर्न योजना नै बनाएर अघि बढेको मेयर नाम्गेल जाङबु शेर्पाले बताउनुभयो । यस विषयलाई नगरपालिकाले गम्भिर रुपले लिएकाले आउदो कार्तिकबाट सबै समस्याको समाधान गर्ने गरी स्थानीय सरकार अघि बढेको उहाँको भनाई छ ।

सहरीकरण बढेसँगै कल खारखानाहरु खुल्नु सकरात्मक पाटो हो । तर व्यवसायको नाममा दिन डाहरै सेवाग्रही लुटिदा समेत कसैको ध्यान जान नसक्नु भने दुखद पक्ष हो । यसको मतलब सबै ग्यारेजहरु त्यस्ता छन् भन्न खोजेको हैन तर नियमनकारी निकायको मौनताको फाईदा उठाउँदै नागरिक ठग्ने ठग कम्पनीहरुको पनि यहाँ कमी छैन् । जसलाई नियन्त्रण गरी आम नागरिकलाई ठगिनबाट जोगाउनु राज्यको दायित्व हो ।

प्रकाशित : २१ श्रावण २०८०, आइतबार ००:००