२ कात्तिक, काठमाडौं । हरेक वर्ष औसत २ लाख नेपाली विदेश घुमफिरमा निस्कने गरेको पाइएको छ ।
अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२१ देखि २०२५ सम्म वार्षिक औसत १ लाख ९९ हजार ९ यस ७६ नेपाली पर्यटन र तीर्थयात्रा भ्रमणमा गएका छन् । यसमध्ये घुमफिरको मुख्य सिजन दसैं भएको व्यवसायी बताउँछन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अनुसार नेपाली ट्राभल एजेन्सी मार्फत विदेश घुमफिरमा जाने नेपालीको परम्परागत मुख्य गन्तव्य थाइल्यान्ड हो ।
पछिल्लो समय युनाइटेड अरब इमिरेट्स (यूएई) अर्को आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । पछिल्लो समय थाइल्यान्डको भिसा प्रक्रियाका कारण नेपाली यात्रु तथा व्यवसायी ठूलो आर्थिक जोखिममा परेको भन्दै नाट्टाले थाइल्यान्ड टुर प्याकेज नै बहिष्कार गर्ने चेतावनी दिएको छ ।
नाट्टाका अनुसार भिसा स्वीकृतिको सुनिश्चितता नहुँदा पनि आवेदकलाई हवाई टिकट तथा होटल बुकिङ अनिवार्य गरिएको छ । भिसा स्वीकृत नभए अग्रिम बुकिङ गरेको रकम फिर्ता नहुने प्रावधानले थाइल्यान्डमा झन्झट बढ्दै जाँदा यात्रु यूएई लगायत अन्य गन्तव्यतर्फ आकर्षित हुन थालेका छन् ।
विदेश जानेमध्ये अध्ययन, परिवार र आफन्त भेटघाट, अस्थायी बसोबास र स्थायी बसोबासमा जाने नेपालीको तथ्यांक ‘भ्रमण सेग्मेन्ट’ मा समावेश छैन ।
यसैगरी सम्मेलन/सेमिनार, व्यवसाय, स्वास्थ्य उपचार, सरकारी भ्रमण, सांस्कृतिक कार्यक्रममा जाने नेपालीको संख्या समेत समावेश छैन । संयुक्त राष्ट्रसंघीय मिसन, खेलकुद कार्यक्रम, आफ्नो मुलुक फिर्ता र अन्य प्रयोजनमा जाने नेपालीको संख्या समेत समावेश छैन । त्यस्तै पर्यटनमा रोजगारी प्रयोजनमा जाने संख्यासमेत समावेश हुँदैन ।

विभागका अनुसार २०२५ मा मात्र पर्यटन तथा तीर्थयात्रामा २ लाख ३३ हजार १ सय ८ नेपाली गएको तथ्यांक छ । पछिल्ला वर्षहरूमा नेपाली आप्रवासन दर निरन्तर वृद्धि भइरहेको देखिएको छ ।
पछिल्लो ५ वर्षमा कुल ७१ लाख २६ हजार ४ सय ५९ नेपाली विभिन्न प्रयोजनका लागि विदेशिएका छन् । यसमध्ये ५२ प्रतिशत भने वैदेशिक रोजगारीमा गएका हुन् ।
‘यस तथ्यांकले अर्थतन्त्रको संरचनात्मक निर्भरता वैदेशिक रोजगारीमा रहेको देखाएको छ,’ विभाग भन्छ ।
विभागको तथ्यांक अनुसार रोजगारीपछि पर्यटन उद्देश्यले विदेश जाने नेपाली संख्या अधिक छ । यस्तो संख्या औसत १४ प्रतिशत छ ।
पछिल्लो ५ वर्षयता पर्यटनमा कुन वर्ष कति नेपाली गए विदेश ?
सन् २०२१ : १ लाख १० हजार ५ सय २१
सन् २०२२ : १ लाख ७७ हजार ३ सय ४
सन् २०२३ : २ लाख ४ हजार ५ सय १७
सन् २०२४ : २ लाख ७४ हजार ४ सय २८
सन् २०२५ : २ लाख ३३ हजार १ सय ८
कुल : ९ लाख ९८ हजार ८ सय ७८
अस्थायी आवासीय प्रयोजनमा जाने ५.२५ प्रतिशत र ४.२० प्रतिशत नेपाली भने स्थायी बसोबासका लागि जाने गरेको देखिन्छ । अध्यागमन विश्लेषण अनुसार हरेक वर्ष विदेशिने नेपालीमध्ये ६० प्रतिशत नागरिक आर्थिक अवसर खोजी र बसाइँसराइ उद्देश्यले विदेशी मुलुक प्रस्थान गरिरहेका छन् ।
शिक्षा आर्जन गर्ने उद्देश्य सहित विदेश जाने नेपालीको संख्यात्मक हिस्सा ६.९ प्रतिशत छ । यसको प्रवृत्तिगत अवस्था हेर्दा २०२१ मा शिक्षाका लागि विदेशिने नागरिक २६ हजार रहेकोमा सन् २०२५ मा ४ सय प्रतिशत बढेर १ लाख ३३ हजार पुगेको छ ।
यस प्रकारको प्रवृत्तिबाट नेपालीको विदेश यात्राको उद्देश्य अल्पकालीन रोजगारीबाट शिक्षा आर्जन गर्दै दीर्घकालीन बसोबासतर्फ निर्देशित रहेको विश्लेषण विभागले गरेको छ ।
पर्यटन बाहेक कुन प्रयोजनमा विदेशिन्छन् कति नेपाली ?
अध्यागमन विभागको तथ्यांक अनुसार २०२१ देखि २०२५ सम्म वैदेशिक रोजगारीमा औसत हरेक वर्ष ७ लाख ४३ हजार ६ सय ८२ नेपाली विदेशिएका छन् । २०२५ मा मात्र यो संख्या ८ लाख ६६ हजार ३ सय १० छ ।
अध्ययनमा हरेक वर्ष औसत ९७ हजार ९ सय ५६ जना विदेशिने गरेको देखिन्छ । २०२५ मा यो संख्या १ लाख ३३ हजार ८ सय ७० छ । परिवार/आफन्तका रूपमा विदेशिने संख्या औसत १ लाख १६ हजार ३ स ७८ छ । यस प्रयोजनका लागि १ लाख ३० हजार नेपाली विदेश गएका थिए ।

अस्थायी बसोबास उद्देश्यले हरेक वर्ष औसत ७४ हजार ८ सय ८१ विदेशिएका छन् । २०२५ मा यो संख्या ९७ हजार ९ सय ३९ छ । स्थायी बसोबासमा औसत ५९ हजार ८ सय ६४ विदेशिने गरेका छन् । २०२५ मा यो संख्या ६४ हजार ७ यस ६० छ ।
‘अन्य’ प्रयोजनमा औसत ३२ हजार ८ सय ५० नेपाली विदेशिने गरेको पाइएको छ । २०२५ मा यस प्रयोजनमा ४९ हजार ३ सय ८६ नेपाली विदेश गएका थिए ।
आश्रितका रूपमा हरेक वर्ष १९ हजार ९ सय ४९ नेपाली विदेशिन्छन् । सम्मेलन/सेमिनार र तालिममा हरेक वर्ष १७ हजार ५ सय ९७ नेपाली विदेश जान्छन् । व्यवसायका लागि औसत १४ हजार ८ सय ६० नेपाली विदेश जाने गरेको तथ्यांक छ ।
त्यस्तै स्वास्थ्य उपचारमा १५ हजार ८ सय ११, सरकारी भ्रमणमा ११ हजार २ सय ५४, अनुमति आवश्यक नपर्ने रोजगारीमा ८ हजार ६ सय ८६ र सांस्कृतिक कार्यक्रममा २ हजार ९ सय ५९ नेपाली जाने गरेको विभागले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय मिसनमा ६ हजार १ सय ४, खेलकुद कार्यक्रममा २ हजार ४ सय ४० र आफ्नो मुलुक फिर्ताका रूपमा ४३ जना औसत नेपाली विदेश जाने गरेको विभागको तथ्यांक छ ।
पछिल्लो ५ वर्षमा कुल कति नेपाली गए विदेश ?
सन् २०२१ : ६ लाख २६ हजार ४ सय ८१
सन् २०२२ : १३ लाख ९७ हजार २ सय ५०
सन् २०२३ : १५ लाख ७२ हजार ४ सय
सन् २०२४ : १६ लाख ८५ हजार ४ सय ९२
सन् २०२५ : १७ लाख ९ सय ६९
कुन देश जान्छन् धेरै नेपाली ?
अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार नेपालीको सबैभन्दा मुख्य आकर्षण यूएईमा छ । पछिल्लो ५ वर्षमा औसत विदेश प्रस्थान गरेकामध्ये सबैभन्दा धेरै यूएई गएका छन् । जसमा रोजगारीको संख्यासमेत समावेश छ ।

यूएईमा हरेक वर्ष औसत २ लाख ७१ हजार ८ सय ९३ जाने गरेको तथ्यांक छ । दोस्रो स्थानमा कतार छ । कतारमा हरेक वर्ष औसत १ लाख ६८ हजार ४ सय ८९ जाने गरेको देखिन्छ । तेस्रो स्थानमा साउदी अरब छ । साउदीमा हरेक वर्ष १ लाख ४४ हजार ३ सय ६७ नेपाली पुगेका छन् । चौथो स्थानमा भारत छ । भारतमा हरेक वर्ष औसत १ लाख १३ हजार ८ सय ५३ नेपाली जाने गर्छन् ।
त्यस्तै जापानमा वार्षिक औसत ८१ हजार ७ सय ४८, अस्ट्रेलिया ८२ हजार ५ सय ६७, मलेसिया १ लाख ५ हजार ८ सय ३६, बेलायत ४५ हजार ४ सय ६५, कुवेत ४५ हजार ७ सय ४७, अमेरिका ६० हजार १ सय ४८, चीन ५१ हजार २ सय २४, थाइल्यान्ड २६ हजार ६ सय ४६, दक्षिण कोरिया २८ हजार ६ सय ९९, ओमान १४ हजार ५ सय ५७ र हङकङमा वार्षिक औसत १४ हजार ३ सय ८८ नेपाली पुग्ने गरेको तथ्यांक छ ।











प्रतिक्रिया