गृह पृष्ठ

‘हेर्ने कथा’ टिमले यसरी तयार पारेको थियो ३० वर्ष हराएका प्रकाशको कथा


१३ भाद्र २०८१, बिहिबार ००:००


फुन्जो जाङ्मु लामा, जसले २२ मे २०२४ मा १४ घण्टा ३१ मिनेटमा सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुगेर सर्वाधिक छोटो समयमा सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान बनाएकी छन्। ‘हेर्ने कथा’ टिम छेकम्पारमा फुन्जोको बाल्यकालका सम्झनाहरू पछ्याउने क्रममा गाउँ मास्तिरको चौँरी गोठमा पुगेको थियो।

त्याे हिउँदे गोठमा भेटिए प्रकाश तामाङ अर्थात् काले मोक्तान तिनै प्रकाश, जसको बारेमा अहिले सिङ्गै देश बहस गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उनको कथा हेरेर चासो व्यक्त गरेका छन्।‘हेर्ने कथा’ टिमका अनुसार प्रकाश फुन्जोका बाल्यकालका सम्झनाहरूसँग पनि जोडिन्छन्।

प्रकाशको बारेमा बुझ्दै जाँदा यो टिमले थाहा पायो– प्रकाश गलैँचा बुन्न भनी काठमाडौँ आएका रहेछन्। तर गलैँचा कारखानाबाट यी बाल मजदुरहरू निकालिएपछि प्रकाश सूर्य भनिने साथीसँग जोरपाटीतिर भौँतारिरहेका थिए। छेकम्पारकै एकजनाले प्रकाश र सूर्यलाई गोठालो काम गर्न भनी लिएर गए।

प्रकाशलाई ठ्याक्कै तिथिमिति थाहा छैन तर उनले भने अनुसार झन्डै ३० वर्षअघि उनी त्यसरी छेकम्पार पुगेका हुन्। उनीसँगै गएका साथी केही समयमै भागेर फर्किएका थिए । प्रकाश भाग्न सकेनन्। प्रकाशका मिल्ने साथी सूर्यले नै ‘काले’को नाम ‘प्रकाश’ राखिदिएका थिए। सूर्य अहिले कहाँ छन्, प्रकाशलाई थाहा छैन।

प्रकाशको विगतको बारेमा खोजीनिती गरेपछि वर्षौँ हराएका उनलाई परिवारसँग भेटाइदिन पाए कस्तो हुँदो हो भन्ने लागेर ‘हेर्ने कथा’ टिमले कल्पना गर्‍यो। प्रकाशले पनि घर खोज्ने इच्छा देखाएपछि सुरू भयो, ३० वर्षदेखि हराइरहेका प्रकाश तामाङलाई उनको परिवारसँग भेटाउने ‘हेर्ने कथा’को यात्रा।

‘हराएका वर्षहरू’ शीर्षकमा युट्युब च्यानल ‘हेर्ने कथा’मा अपलोड भएको एक घण्टा १० मिनेटको भिडियाेमा प्रकाशको ४० वर्षे जिन्दगीको कथा समेटिएको छ। ‘झापाबाट गलैँचा बुन्न भनी काठमाडौँ आइपुगेको एउटा फुच्चे (अन्दाजी १० वर्ष) केटो थिए । केही समय काठमाडौँमा बिताएपछि उमेर नपुगेका कारण गलैँचा बुन्ने कामबाट निकालिए पछि उनलाई उत्तरी गोरखाका मान्छेले भेट्टाउँछन् र गोठालो काम गर्नका लागि २ हप्ताको बाटो हिँडाएर चुम भ्याली लिएर जान्छन्। त्यसपछि ऊ हिमालबाट कहिल्यै घर फर्केनन तर अाज हेर्ने कथाकाे टिमले उनकाे परिवारसँग भेट गराएका छन ।

प्रकाशित : १३ भाद्र २०८१, बिहिबार ००:००