राजनीति

मन्त्री–सचिव विवाद बढेपछि मन्त्रालयमा सुरक्षाका लागि प्रहरी परिचालन


१७ भाद्र २०८२, मंगलबार ००:००


कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम र उनका समर्थकले मन्त्रालयका सचिव शरणकुमार पाण्डेमाथि आक्रमण गर्न सक्ने भन्दै मन्त्रालयमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले सुरक्षा दिनुपर्ने आफ्नो दायित्व भएकोले प्रहरी पठाइएको बताए । प्रहरीको १० जनाको टोली मन्त्रालय परिसरमै खटाइएको छ ।

आफूलाई असहयोग गरेको भन्दै मन्त्री हाङ्गामले सोमबार मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चाबी चालकमार्फत खोसेर सचिवालयमा राखेका थिए । विवाद बढेपछि मन्त्री हाङ्गाम भने गृह जिल्ला ताप्लेजुङ लागेका छन् भने सचिव पाण्डे पनि मन्त्रालय गएका छैनन् ।

‘मन्त्री र उहाँका समर्थकहरूले आक्रमण गर्न सक्ने ठानेर सचिवज्यू मन्त्रालयमा आउनु भएको छैन,’ एक कर्मचारीले भने,‘मन्त्रीज्यू हिजै जिल्ला जाने भनेर निस्किनु भएको छ ।’ स्रोतका अनुसार सचिव पाण्डेले एक हप्ताका लागि बिदा लिने तयारी गरेका छन् । बिदा लिएर चितवनस्थित घर जाने उनको तयारी रहेको बुझिएको छ ।

विवाद किन भयो ?
मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छलफलका लागि भन्दै मुख्यमन्त्री कार्यालय पुगेका पाण्डेले छलफल सकेर निस्कन खोज्दा गाडी नदेखेपछि सवारी चालकलाई फोन गरेका थिए । तर, चालकको फोन अफ रहेको र बुझ्दा मन्त्रीको दबाबमा चाबी खोसिएको थाहा पाएका थिए । गत साउनको अन्तिम साता सचिव पाण्डेको सरुवा भएको थियो ।

सरुवा भएका पाण्डेको सरुवा रोकिएको थियो । सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकमा सचिव पाण्डेको सरुवा पुनः मुख्यमन्त्री कार्यालयमा भएकोले मन्त्रालयमा काम काज गर्न खटाउने बारे छलफल भएको थियो ।

मन्त्रीपरिषद्को बैठकमा सहभागी भएका मन्त्री हाङ्गामले सरुवा भएर गइसकेको सचिवलाई हाजिर गर्न दिन्न भन्दै मुख्यमन्त्रीसँग असन्तुष्टि व्यक्त गरेका थिए । त्यस लगत्तै उनले सचिवालयलाई प्रयोग गरेर सचिवले प्रयोग गर्ने गाडीको चाबी खोसेका हुन् ।

मन्त्री हाङ्गाम र सचिव पाण्डेबिच लामो समयदेखि द्वन्द्व चलिरहेको मन्त्रालय स्रोत बताउँछ । मन्त्रीले करारका ड्राइभर तथा कार्यालय सहयोगीहरू हटाउने र आफ्ना मान्छे नियुक्ति गर्ने प्रयास गरेका थिए । जसलाई सचिवले अस्वीकार गरेको जनाइएको छ ।

एमाले कर्मचारी संगठनको विरोध
यसैबिच मन्त्री हाङ्गामले पदीय शक्तिको दुरुपयोग गर्दै मन्त्रालयका सचिवले प्रयोग गर्ने सरकारी गाडीको चाबी खोसेको भन्दै एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले आपत्ति जनाएको छ । संगठनका कोशी प्रदेश अध्यक्ष हरिप्रसाद सुवेदीले एक विज्ञप्ति जारी गर्दै मन्त्रीले सार्वजनिक रूपमा क्षमायाचना गर्न र भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउन माग गरेको छ ।

‘बहालवाला मन्त्रीबाट गरिएको अमर्यादित, अपमानित तथा अत्यन्त घृणित व्यवहारले कर्मचारीको मनोबलमा ह्रास आउने तथा कार्यस्थलमा सुरक्षित कार्य वातावरणको समेत प्रत्याभूत हुन नसकेकोले यस किसिमको घटना निन्दनीय र भर्त्सना योग्य भएको हाम्रो ठहर रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

पेसागत सङ्घसंस्थाको पनि आपत्ति
यसैबिच मन्त्री हाङ्गामले सचिवले प्रयोग गरेको सवारी साधनको साँचो सवारी चालक मार्फत खोसेको विषयमा आपत्ति जनाएका छन् । नेपाल फिसिरिज टेक्निसियन एसोसिएशन, नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएशन र नेपाल भेटेरिनरी एसोसिएसनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाले सार्वजनिक सेवा प्रवाहमा नकारात्मक सन्देशका साथै प्रतिकूल असर पुर्‍याउने प्रस्ट पारेका छन् ।

‘राजनीतिक र प्रशासनिक नेतृत्वबिच आपसी विश्वास, सद्भाव र सहकार्यलाई मजबुत बनाउनुपर्ने अवस्थामा यस्तो घटना हुनु दुःखद भएको हामी मान्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । पेसागत संस्थाहरूले यस अमर्यादित तथा अपमानजनक घटनाप्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरण बनाउन सबै सरोकारवालाहरूलाई अनुरोध समेत गरेका छन् ।

उनीहरूले सम्पूर्ण पेसागत संस्था, संस्थागत मर्यादा, कानुनी शासन र प्रशासनिक कार्यपद्धतिको निरन्तर पक्षधर रहेको कुरा पनि स्पष्ट पारेका छन् । यो घटनाले प्रदेश सरकारभित्र राजनीतिक र प्रशासनिक नेतृत्वबिचको सम्बन्धमा तनाव उत्पन्न भएको सङ्केत गरेको छ ।

प्रकाशित : १७ भाद्र २०८२, मंगलबार ००:००