Breaking News Post

एमालेको विधान महाधिवेशन सन्दर्भमा झलनाथ खनालले चार बुँदे सुझाव


२० भाद्र २०८२, शुक्रबार ००:००


काठमाडौँ, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्र गम्भीर अन्तरसङ्घर्ष चलिरहेको बताएका छन् ।शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन सन्दर्भमा कुरा गर्दै खनालले चार बुँदे सुझावसमेत दिएका छन् ।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच चलिरहेको अन्तसङ्घर्ष कति सही वा गलत छन् भन्ने भोलिको दिनमा निर्क्योल हुने उनको भनाइ छ । म अहिले त्यो पार्टीप्रति शुभेच्छा दिन चाहन्छु । अहिले त्यो पार्टीविरुद्ध बोल्न चाहन्नँ ।

अहिले त्यो पार्टीभित्र गम्भीर अन्तरसङ्घर्ष चलिरहेको छ । त्यो अन्तरसङ्घर्षमा दुवै पक्ष कति सही र कति गलत छन् भन्ने भोलि निर्क्योल हुँदै जान्छ,’ खनालले भने, ‘अहिले नेपालको सन्दर्भमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमालेले नै हो ।’ उनले बहस, छलफलद्वारा ‘वादे वादे जायते तत्व बोधः’ गर्दै एमालेले आफूलाई रुपान्तरण गरी चार वटा निष्कर्षमा पुग्ने काम गरोस् भन्ने सुझाव दिए ।

खनालका चार वटा सुझावः

-मार्क्सवाद र लेनिनवाद नै हाम्रो एकमात्र मार्गदर्शक सिद्धान्त हो भन्ने निष्कर्षमा पुगोस् ।
-नेपाली समाज पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी क्रान्ति र रुपान्तरण युगमा आएको छ भन्ने कुराको निष्कर्ष निकालोस् ।
-यसरी समाजवादी क्रान्ति र रुपान्तरणको अवस्थामा आएको हुनाले अबको क्रान्तिको लक्ष्य एकमात्र वैज्ञानिक समाजवाद हो र वैज्ञानिक समाजवादको कार्यक्रम निर्माण गरेरमात्रै हामी अग्रगतितर्फ जान सक्ने निष्कर्ष निकालोस् ।
-वैज्ञानिक समाजवाद प्राप्त गर्ने लक्ष्य निर्धारण गर्दै त्यो लक्ष्य प्राप्त गर्ने कार्यदिशा, नीति र सिद्धान्त सही ढंगले निर्धारण गर्न सक्ने अवस्थामा पुगोस् ।
-एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले यी चार वटा काम गर्न सकेमा एमालेमात्र होइन, नेपालका कम्युनिस्ट आन्दोलनमा पनि योगदन पुग्न सक्ने विश्वास लिएका छन् । अरु सबै प्रकारका विचार, प्रवृत्ति, आकाङ्क्षा, महत्त्वाकाङ्क्षा, स्वार्थ, महास्वार्थलाई परित्याग गरेर जारी विधान महाधिवेशन या महाधिवेशनले यी चार वटा निष्कर्ष निकालोस् भन्ने उनको शुभेच्छा छ । खनालले ओली, भण्डारीसहित पार्टीका सबै नेता तथा कार्यकर्ता यस दिशामा अगाडि बढ्न आग्रह गरेका छन् ।

ओली र भण्डारीको जीवनमा प्रकट भइरहेका विभिन्न कार्यनीतिक विषयहरू त्यति ठुला र महत्त्वपूर्ण कुरा नभएको खनालको बुझाइ छ । उमेरहदको कुरा पनि ठुलो विषय नभएको उनले बताए ।

‘उमेरहदको कुरा रणनीतिक र सैद्धान्तिक महत्त्वको विषय होइन । मुख्य कुरा मैले भनेका चार वटा कुरा हुन् । यी चार वटा सिद्धान्तमा एमाले दृढतापूर्वक उभिन्छ भने तपसिलका कुरामा समस्या छैन’, उनले भने ।

एमाले केन्द्रीय समितिको पछिल्लो बैठकले पार्टीको नवौँ र दशौँ महाधिवेशनले अनुमोदन गरेका ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था खारेज र पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ (विचाराधीन)मा राख्ने निर्णय गरेकोमा भण्डारीले तीव्र असन्तुष्टी जनाएकी छन् । बिहीबार बसेको एमालेको सचिवालय बैठकले उनको माग सम्बोधन गर्नेगरी निष्कर्ष निकालेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य कर्णबहादुर थापासहितले विधान महाधिवेशनमा फरक मत राख्ने तयारी गरेका छन् । एमालेको आगामी वैचारिक, सैद्धान्तिक, सांगठनिक, कार्यदिशा, विधिमाथि छलफल गरी आइतबार महाधिवेशन सम्पन्न हुनेछ ।

प्रकाशित : २० भाद्र २०८२, शुक्रबार ००:००