मुख्य खवर

मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रधानमन्त्री ओलीकाे भेटघाट


२६ श्रावण २०८२, आइतबार ००:००


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । आइतबार बिहान उनले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन् । केही दिनअघि उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

दुई शीर्ष नेतासँगको भेटमा प्रदेशका मन्त्री फेरबदलका विषयमा छलफल भएको थियो । यद्यपि मुख्यमन्त्री कार्कीले समग्र परिस्थितिको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको बताएका छन् । राजनीतिक विषयमा गफगाफ भयो,’उनले भने, ‘सरकारका कामकाजका बारेमा रिपोर्टिङ पनि ।

देउवासँगको भेटको विषयमा उनले भने,‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि प्रदेशको समग्र परिस्थितिका विषयमा जानकारी गराए । स्रोतका अनुसार मन्त्रीमण्डल फेरबदलको विषयमा केपी ओलीले सल्लाह गरेर भनौंला भनेका छन् । देउवाले त्यही जवाफ दिएका थिए ।

मुख्यमन्त्रीले भेटघाटका सबै विषय प्रष्ट रुपमा बताउन चाहेनन् । तर दुवै नेतासँगको भेटमा प्रदेशको मन्त्रीमण्डल परिवर्तनको विषयमा छलफल भएको स्रोत बताउँछ । कोलिसन पाटनरसँग कुरा नभई त्यस्तो कुरा टुंगिदैन ।

प्रधानमन्त्री र कांग्रेस सभापति देउवासँग कुरा भयो, माथिबाट कुरा नआइकन मन्त्री फेरिदैनन’, स्रोतले भन्यो, ‘यहाँको स्थीति रिपोर्टिङ भएको छ । अब उहाँहरुले सल्लाह गरेर भन्नुहुन्छ, हेरौं केही दिन ।’

मुख्यमन्त्री निकट स्रोतका अनुसार बागमती प्रदेशमा देखिएको विवादका कारण शेरबहादुर देउवाले कोशीमा केही समय मन्त्री फेरबदल रोक्न लगाएका छन् । कोशीमा पनि कांग्रेस संसदीय दलभित्र विवाद छ ।

कार्की नेतृत्वको सरकारमा पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल क्युआर कोड पठाएर घुस मागेको आरोपमा विवादित छन् । कृषिमन्त्री खगेनसिं हाङगाम गृह जिल्ला ताप्लेजुड्डमा मान्छे कुटेका कारण विवादित बनेका थिए ।

क्याबिनेटका अन्य सदस्यसँग मुख्यमन्त्री कार्कीको सम्बन्ध सुमधुर छैन । सरकार र मन्त्रीको आचारणलाई लिएर सार्वजनिक रुपमा आलोचना भए पनि मुख्यमन्त्रीले मुख खोलेका छैनन् ।
मन्त्रिपरिषद् सदस्य घुस विवादमा मुछिदा नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरुले पटक-टक मुख्यमन्त्रीको जवाफ मागे पनि उनी बोलेका छैनन् ।

मुखले भन्दा पनि कामले (मन्त्रिपरिषद् सदस्य फेरेर) जवाफ दिनका लागि मुख्यमन्त्री नबोलेको उनी निकट नेताहरु बताउँछन् । एक वर्य पूरा भएका मन्त्री दुवै दलबाट फिर्ता हुन्छन्, हाम्रोमा केही समस्या छैन, समस्या कांग्रेसमा हो,’एमाले संसदीय दल स्रोत भन्छ,’ माथिबाट सिग्नल आउने वितिकै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।

कोशी प्रदेशमा कांग्रेसभित्र विवाद छ । वर्तमान सरकारमा डा। शेखर कोइराला समूह सहभागी छैन । अब मन्त्री परिवर्तन गर्दा संस्थापन समूहभित्र देउवा, कृष्णप्रसाद सिटौला समूहको भागबन्डा हुन्छ । इतर समूहलाई व्यवस्थापन गर्न पनि चुनौती छ ।

विवाद बढ्ने भएका कारण कांग्रेस संस्थापन समूहले कोशीमा मन्त्री फेर्नका लागि हतार गरेको छैन । तर, मन्त्रीहरु विवादमा फसेका कारण मुख्यमन्त्री कार्कीले दबाब भने बढाइरहेका छन् ।

प्रकाशित : २६ श्रावण २०८२, आइतबार ००:००