Breaking News Post

रास्वपा काेशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित


२८ जेष्ठ २०८३, बिहिबार ००:००


२८ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन् । मोरङको विराटचोकमा जारी पहिलो प्रदेश अधिवेशनबाट मोरङका राई  सभापतिमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामअनुसार उनले २८० मत प्राप्त गरे । उनका निकटमत प्रतिद्वन्द्वी गोमा तामाङ ‘सरिन’ले  १४१ मत प्राप्त गरिन् भने, अन्य उम्मेदवार चन्द्रकुमार गौली ‘निरज’ले २७ र डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।

प्रदेश अधिवेशनमा राईको पक्षमा केन्द्रीय तहका नेता र सांसदले प्यानल बनाएर लिष्ट बाडेका थिए । लिष्ट बाडेपछि सभापतिको उम्मेदवार तामाङले विरोध जनाएकी थिइन् ।

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट पराजित तामाङ रास्वपाको प्रदेशको कार्यवहाक सभापति थिइन् । सभापतिमा पराजित भएपछि उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् ।

उनले लेखेकी छन्, ‘आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

रास्वपाको आन्तरिक लोकतन्त्रमा तामाङ सभापति पदको बलियो दाबेदारका रूपमा हेरिएकी थिइन् । तर, पराजित भएपछि उनले राजनीतिक बिट मारेको घोषणा गरिन् ।

 

 

प्रकाशित : २८ जेष्ठ २०८३, बिहिबार ००:००