गृह पृष्ठ

सहकारी पीडितमाथि प्रहरीले लाठी प्रहार


१६ भाद्र २०८१, आइतबार ००:००


काठमाडौं, विभिन्न सहकारी संस्थाबाट बचत गरेकाे रकम फिर्ता नपाएका सर्वसाधारणहरूको प्रदर्शनमाथि सरकारले अवरोध गरेको छ । रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रदर्शन गर्दै सिंहदरबारतर्फ अघि बढने क्रममा सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको हो ।

लाठी प्रहारकाे कारण केही सहकारी पीडितहरू घाइते भएका छन् । बचत फिर्ताका लागि सरकारलाई दबाब दिन सिमसिम झरीका बीच प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै लाठी प्रहार गरेकाे हो । सिंहदरबारतिर आउन नदिएपछि सहकारी पीडितहरु शहीदगेटतर्फ मोडिएका छन् । उनीहरु त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघरसम्म पुग्ने तयारीमा छन् ।

उनीहरूले मेरो छोराछोरी पढ्ने पैसा सहकारीमा छ, सहकारी पीडितको घरमा भात तरकारी पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्‍यै थाक्दैन, सहकारी ठगहरू मुर्दावाद, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर जस्ता नारा लेखेको ब्यानर बोकेर प्रर्दशनमा छन् ।

प्रकाशित : १६ भाद्र २०८१, आइतबार ००:००