गृह पृष्ठ

मृत्युको न्यायिक घोषणा, २२ वर्षपछि बाबुले गरे काजकिरिया


२५ भाद्र २०८१, मंगलबार ००:००


सशस्त्र युद्धमा बेपत्ता भएकी मोरङको पथरीशनिश्चरे नगरपालिका–५ की लक्ष्मी खतिवडाको २२ वर्षपछि काजकिरिया गरिएको छ । २३ वर्षको उमेरमा १७ भदौ २०५९ मा बेपत्ता भएकी उनको हालै जिल्ला अदालत मोरङले मृत्युको न्यायिक घोषणा गरेपछि परिवारले काजकिरिया गरेको हो ।

गत १७ भदौमा कुशको शव बनाएर परिवारले उनको दाहसंस्कार गरेको थियो । लक्ष्मीका ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका छन् । २०५८ मंसिरमा भूमिगत भएकी लक्ष्मीलाई १७ भदौमा राज्यपक्षले पक्राउ गरेको थियो । त्यसपछि परिवारले उनलाई भेट्न पाएन । पक्राउ परेको १५ दिनपछि जानकारी पाएर सोधीखोजी गर्दा लक्ष्मीको अवस्था पत्ता लाग्न नसकेकाे उनकाे भाइकाे भनाइ रहेकाे छ ।

बेपत्ता भएको २२ वर्षसम्म पनि पत्ता नलागेपछि लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गर्दै २०८० साउन १४ गते उनका बुबा जनकलालले जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । २०७५ सालमा जारी भएको मुलुकी देवानी संहिताको दफा ४० को ४ मा बेपत्ता व्यक्तिको मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रावधान रहेकाे छ ।

अदालतले लक्ष्मी पक्राउ परेको दिनलाई आधार मान्दै २५ भदौ २०८० मा मृत्युको न्यायिक घोषणा गरिदिएको हो । मुलुकी देवानी संहितामा विना सूचना १२ वर्षसम्म बेपत्ता भए मृत्यु भएको मानिने उल्लेख छ । जिल्ला अदालत मोरङका श्रेस्तेदार मणिराम पोखरेलले परिवारबाट निवेदन परेपछि सर्जिमिन गरेर मृत्युको न्यायिक घोषणा गरेको बताएका छन ।

‘उजुरी परेपछि हामीले सर्जिमिन गर्‍यौं, त्यसका आधारमा अदालतले मृत्युको न्यायिक घोषणा गरेको हो’, उनले भने, ‘अदालतको प्रक्रिया अनुसार मृत्यु घोषणा गरिएको हो । लक्ष्मीका दाजु अनिलका अनुसार लक्ष्मीको नाम बेपत्ताको सूचीमा छ । खोजीका लागि सत्यनिरुपण तथा वेपत्ता छानविन आयोग आयोगमा निवेदन पनि दिइएको थियो । तर छानबिन प्रक्रिया अघि नै बढेन ।

‘बेपत्ता भएको २२ वर्ष भयो, फर्केर आउने आश छैन, बुबाले काजकिरिया गर्ने इच्छा व्यक्त गरेपछि अदालतबाट मृत्युको न्यायिक घोषणा गर्‍यौं’, उनले भने, ‘टीआरसी ऐन पारित भयो, त्यसबाट खोजी गर्न समय लाग्ला । वृद्ध भएका बुबाको आग्रहपछि अदालतबाट मृत्यु घोषणा गरेको दाजु अनिलले बताए ।

प्रकाशित : २५ भाद्र २०८१, मंगलबार ००:००