ताजा घटना

सिन्धुपाल्चोकको लार्के बस्तीमा पहिरो, इन्द्रावती नदी थुनियो


२ असार २०७८, बुधबार ००:००


लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको छ। मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ।

बाढीले मेलम्ची बजारमा धेरै क्षति पुर्‍याएको छ। मेलम्ची पुगेर फर्केका पत्रकार आदित्य दाहालका अनुसार मेलम्ची र ईन्द्रावती नदीमा आएको लेदोसहितको बाढीले घर र पुलमा क्षति पुर्‍याएको छ।

नदी आसपासका क्षेत्रका संरचनामा क्षति पुर्‍याएको छ। मानिसहरू पनि सम्पर्कबिहीन रहेको भनिएको छ, यकिन विवरण प्राप्त भइसकेको छैन,’ उनले भने।

पहिरोले माथिल्लो भेगमा खोलाहरू थुनिएर आएको लेदोसहितको बाढीले मेलम्ची बजारका घरमा क्षति पुर्‍याएको उनले बताए। ‘पानी मात्रैले होइन लेदोसहित बाढी आउँदा धेरै क्षति पुगेको छ।

लेदोले नदी आसपासका घरहरू पुरिएका छन्,’ उनले भने। मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले पनि बताएका छन्।

उनकाअनुसार मेलम्ची खानेपानी ड्याममा केही क्षति पुगेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारका घरहरूमा क्षति पुगेको छ।
यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुलमा क्षति पुगेको मन्त्री तामाङले उल्लेख गरेका छन्।

नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएको छ। उनले पीडितहरूलाई आजै सरकारले राहत उपलब्ध गराउने पनि बताएका छन्। मेलम्ची र ईन्द्रावतीको बाढीले घरहरूमा क्षति पुर्‍याएको र मानिसहरूलाई उद्धार गर्नुपर्ने हुन सक्ने भएकोले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक मातहत उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म मानवीय क्षतिबारे कुनै विवरण नआएको जानकारी दिए। मेलम्चीमा बसपार्क र नदी आसपासका क्षेत्रमा रहेका घर, टहरा बगाएको विवरण प्राप्त भएको र त्यसतर्फ टोलीसमेत परिचालन गरिएको उनले बताए।

‘घर तथा पुलहरूमा क्षति पुगेको विवरण आएको छ। मानवीय क्षतिको अहिलेसम्म कुनै विवरण आएको छैन,’ उनले भने, ‘उद्धार गर्नुपर्ने कतै ठाउँ छन् भने खबर पाउनासाथ जाने गरी तयारी अवस्थामा छौं।’

बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्। बाढी र ठाउँठाउँमा झरेका पहिरोले सडकहरूमा पनि क्षति पुर्‍याएको छ।

https://www.facebook.com/aditya.dahal.07/videos/3835711576539008

प्रकाशित : २ असार २०७८, बुधबार ००:००