काठमाडौं, नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी छ । बैठक स्रोतका अनुसार, गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अहिले मधेश प्रदेशका सदस्यहरू बोल्न थालेका छन् ।
उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनमाथि नेताहरूले धारणा राखिरहेका हुन् । अहिलेसम्म धारणा राखेका मध्ये अधिकांशले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा बोलेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे केही नेताहरूले सकारात्मक धारणा राखे पनि अधिकांश नेताले ओलीकै पक्षमा बोलेका हुन् । केन्द्रीय सदस्य दिवाकर देवकोटाले उमेर हदको विषयमा प्रश्न उठाएका छन् । उनले पहिले ७० वर्षे उमेरहद राख्नु र अहिले हटाउनुपर्नेको कारण खोजी गरेका छन् ।
‘पहिले किन उमेर हद राखियो रु अहिले किन हटाइयो ?’ देवकोटाले बैठकमा प्रश्न गरे । त्यस्तै, अर्का केन्द्रीय सदस्य कृष्ण पौडेलले पार्टी नेतृत्वकै कारण कार्यकर्तामा निराशा छाएको बताए । केन्द्रीय सदस्य रामपृत रामले नेताहरूले गुटबन्दी गरेका कारण आफूहरूलाई स्थानीय स्तरमा काम गर्न कठिन भएको बताए । नेताहरूले बोल्ने क्रम जारी छ । बैठक भोलिसम्म चल्ने बताइएको छ । प्रत्येक केन्द्रीय सदस्यलाई ३/३ मिनेटको बोल्ने समय दिइएको छ ।











प्रतिक्रिया