महेन्द्रनगर,कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् र गम्भीर घाइते ममता छोरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिएका छन ।
‘दुर्घटनामा परी बाबु र छोरीको अवस्था गम्भीर छ’, प्रवक्ता थापाले भने, ‘आमालाई उपचारका लागि धनगढी पुर्याउँदा मृत्यु भयो । दुर्घटनालगत्तै त्यहाँ केही समय स्थिति तनावग्रस्त बनेपछि राति नै जिल्ला प्रहरी कार्यालयबाट प्रवक्ता थापाको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थल पुगेको थियो । प्रहरीले ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।











प्रतिक्रिया