खेलकुद

साफ यु-२० च्याम्पियनसिपमा सहभागी उपविजेता टोली स्वदेश फर्किए


७ श्रावण २०८२, मंगलबार ००:००


काठमाडौं, साफ महिला यु-२० च्याम्पियनसिपमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ। बंगलादेशमा भएको प्रतियोगितामा उपविजेता भएको नेपाली टोली मंगलबार अपरान्ह स्वदेश फर्किएको हो। नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फाका प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले स्वागत गरेका थिए।

स्वदेश फर्किएपछि कप्तान विर्सना चौधरीले अन्तिम खेलमा सबै खेलाडीले राम्रो प्रदर्शन गर्दा पनि नजिता आफ्नो पक्षमा पार्न असफल भएको बताइन्। त्यस्तै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीहरुले निरन्तर खेल्दा थकान महशुस गरेको र त्यसको असर अन्तिम खेलमा देखिएको बताए।

प्रतियोगिताको अन्तिम खेलमा आयोजक बंगलादेशसँग पराजित भएपछि नेपाल उपविजेतामा सिमित हुन पुगेको थियो। बंगलादेश, नेपाल, भुटान र श्रीलंकाको सहभागिता रहेको प्रतियोगितामा बंगलादेशले ६ वटै खेल जित्दै च्याम्पियन बन्न सफल भयो भने नेपाल ४ खेल जित्दै उपविजेता बन्यो।

प्रकाशित : ७ श्रावण २०८२, मंगलबार ००:००