Breaking News Post

सुशासन समितिको सभापतिमा नेकपा एमालेले दाबी नगर्ने


९ भाद्र २०८२, सोमबार ००:००


काठमाडौँ, प्रतिनिधिसभा अन्तर्गतको रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेकपा एमालेले दाबी नगर्ने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राज्य व्यवस्था समितिको सभापतिमा एमालेले दाबी नगर्ने बताएका हुन् ।

संसद् सचिवालयले आज समिति सभापतिको निर्वाचनका लागि सूचना निकाल्दैछ’, बर्तौलाले भने, ‘यो पदमा नेकपा एमालेले उम्मेदवारी दर्ता गर्दैन । यसअघि पनि नेपाली कांग्रेसकै सभापति रहेकाले अहिले पनि पहिलो रोजाई कांग्रेसकै हुने बर्तौलाको भनाइ छ ।

पहिलो रोजाई कांग्रेसकै हुन्छ । यदि कांग्रेसले आफ्नो उम्मेदवारी रहँदैन भन्यो भने मात्र हामी पार्टीमा छलफल गर्छौं’, बर्तौलाले रातोपाटीसँग भने, ‘कांग्रेसले दिएको उम्मेदवारीलाई हाम्रो समर्थन रहन्छ ।’

सङ्घीय निजामती विधेयकको प्रस्तावित मस्यौदामा कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा चलखेल भएपछि गठित समितिले राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि उनले राजीनामा दिएसँगै सभापति पद रिक्त हुन पुगेको थियो ।

समितिको सभापति रिक्त भएको १५ दिनभित्र चयन गरिसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार आज सभापति चयनका लागि संसद् सचिवालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दैछ । यसअघिको भागबन्डामा नेपाली कांग्रेसको भागमा परेको समिति सभापति पद अब पनि कांग्रेसले नै लिने तयारी छ । त्यसका लागि कांग्रेसले समितिको सभापतिका लागि आन्तरिक छलफल गरिरहेको छ ।

यसअघिका सभापति खतिवडाले गत साउन २८ गते सभामुख देवराज घिमिरे समक्ष लिखित रूपमा राजीनामा बुझाएका थिए । रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार भदौ ११ गतेभित्र सभापति चयन गरिसक्नुपर्ने भएको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम १७६ मा संसदीय विषयगत सभापतिको निर्वाचन सम्बन्धी व्यवस्था छ । त्यहाँ सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने व्यवस्था रहेको छ ।

प्रकाशित : ९ भाद्र २०८२, सोमबार ००:००