गृह पृष्ठ

तरबारले केक काटेर आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका लामा फेरि पक्राउ


९ भाद्र २०८२, सोमबार ००:००


काठमाडौँ, गुण्डागर्दीमा संलग्न रेस लामा तरबारले केक काटेर टिकटकमा भिडियो पोस्ट गर्दै आतङ्क मच्चाएको आरोपमा २०८१ माघ २४ मा पक्राउ परेका थिए । आफूलाई रेस लामा भनेर चिनाउने गोपाल मोक्तान ६ महिनापछि फेरि पक्राउ गरेका छन् ।

आइतबार साँझ उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले चाबहिलस्थित एवान क्याफेबाट पक्राउ गरेको हो । भदौ ४ मा काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीमा सञ्चालित बाजेको सेकुवामाएकराज कार्की ‘जनक’लाई कुटपिट गरेको उनीमाथि आरोप छ ।

जनकलाई रेसले २ लाख ८० हजार तिर्नुपर्ने थियो । तर, सो रकम माग्दा रेसले उल्टै कुटपिट गरेको पीडितको आरोप छ । उनीविरुद्ध जनकले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दर्ता गरेर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए ।

रेस लामा दोलखाको बैतेश्वर गाउँपालिका–३ का स्थानीय हुन् । काठमाडौँको सुकेधारा बस्ने उनी नेपाली कांग्रेसका बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेनिकट मानिन्छन् । ६ महिनाअघि तरबारले केक काटेर आतङ्क मच्चाएको आरोपमा लामा सहित ७ जना पक्राउ परेका थिए ।

त्यस बेला रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ पक्राउ परेका थिए । टिकटकमा खुकुरी र तरबारले केक काटेर ‘शोअफ’ गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूमाथि अनुसन्धान गरेको थियो ।

प्रकाशित : ९ भाद्र २०८२, सोमबार ००:००