ताजा घटना

सोलुखुम्बुकी सुत्केरीको पेटभित्र कपडा छाडेको घटनाः: काउन्सिलले गर्यो कारबाही


१३ आश्विन २०७८, बुधबार ००:००


काठमाडौं , एक गर्भवतीको शल्यक्रिया मार्फत प्रसूति गराउने क्रममा उहाँको पेटभित्र नै कपडा छाडिएको घटनाका विषयमा नेपाल मेडिकल काउन्सिलले छानबिन गरेर कारबाही अगाडि बढाएको छ । काउन्सिलले गरेको छानबिनका क्रममा सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा प्रसूति गराइएकी डोमा घतानीको शल्यक्रियाका क्रममा पेटमा टेट्रा छाडेको (चारपाटे कपडा) पाइएको थियो। अस्पतालमा डोमाको २०७७ जेठ ७ गते शल्यक्रिया गरेर प्रसूति गराइएको थियो।

शल्यक्रियापछि उहाँ निरन्तर बिरामी भइरहनुभएको छ । उहाँको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । श्रीमतिको स्वास्थ्यमा सुधार नआएपछि उनका श्रीमान सुनिल घतानी विश्वकार्माले काउन्सिलमा छानबिनका लागि निवेदन दिनुभएको थियो ।

त्यसपछि गरिएको छानबिनका क्रममा शल्यक्रियामा संलग्न डा दिलिप कुमार साहसँग स्पष्टिकरण मागिएको काउन्सिलले जानकारी दिएको छ । यसका साथै शल्यक्रियामा संलग्न स्टाफ नर्स सानी शेर्पालाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल नर्सिङ काउन्सिलमा लेखी पठाइएको मेडिकल काउन्सिलले जनाएको छ ।

छानबिनका क्रममा शल्यक्रिया गर्दा डोमा घतानको पेटमा टेट्रा छाडी घाउ बन्द गरिएको पाइएको’ काउन्सिलले जिल्ला अस्पताल फाप्लुलाई सचेत गराउँदै पठाइएको पत्रमा भनिएको छ, ‘शल्यक्रियामा संलग्न चिकित्सक डा दिलिप कुमार साहलाई काउन्सिलको नियमानुसार किन कारबाही नगर्ने भनी स्पष्टीकरण माग गरिएको तथा स्टाफ नर्स सानी शेर्पालाई आवश्यक कारबाही गर्न नर्सिङ काउन्सिलमा लेखी पठाइएको व्यहोरा जानकारी गराउँदछु।’

यसका साथै काउन्सिलले अस्पताललाई शल्यक्रिया गर्दा विश्व स्वास्थ्य संगठनबाट जारी गरिएको शल्यक्रिया गर्दा प्रयोग गर्नुपर्ने चेकलिष्ट लागू गर्न तथा गराउन पनि निर्देशन दिएको छ । काउन्सिलले यस्ता गल्ती दोहोरिन नदिन अस्पताललाई सचेत समेत गराएको छ । घतानीका आफन्तले उक्त घटनापछि चिकित्सक र अस्पतालमाथि कारबाहीको माग गर्दै काउन्सिलमा आन्दोलन समेत गरेका थिए। – स्वास्थ्य खबरवाट

प्रकाशित : १३ आश्विन २०७८, बुधबार ००:००