काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुन सक्ने सम्भावना औँल्याइए पनि त्यसको टुङ्गो अझैसम्म लाग्न सकेको छैन ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘हामी समन्वय गर्दैछौँ, तर भारतीय पक्षबाट व्यस्त सेड्युल रहेको कुरा आइरहेको छ । हालसम्म सुनिश्चित छैन । सम्भवतः चीन पुगेर पनि भेटघाट सेड्युल सुनिश्चित हुन्छ जस्तो लाग्छ ।’
विगतमा पनि अमेरिका र थाइल्याण्ड भ्रमणका क्रममा पनि प्रधानमन्त्री ओली र मोदीबिच भेट हुन्छ कि हुँदैन भन्ने सुनिश्चित नभएकै अवस्थामा उतिबेलै कार्यक्रम तय भएर दुवै जनाको बिचमा भेट भएको थियो । अमेरिकामा २०८१ असोजमा आयोजित युएनको कार्यक्रममा भाग लिन गएको बेला दुवै जनाको बिचमा भेटवार्ता भएको थियो ।
त्यसपछि २०८१ चैतमा थाइल्याण्डमा आयोजित बिमस्टेक सम्मेलनमा भाग लिन गएको बेला दुवै जनाको बिच भेटवार्ता भएको थियो । ती दुवै भेट आकस्मिक थियो । चीनमा पनि यसैगरी भेटवार्ता हुन सक्ने मन्त्रालय स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका ती अधिकारीले भने, ‘अहिलेसम्म दुई प्रधानमन्त्रीको बिचमा भेटघाटको सम्भावना १० प्रतिशत देखिएको छ । हालसम्म चीन र रुसका साथै भियतनाम, माल्दिभ्स, लाओ पिपुल्स, कम्बोडियाका राष्ट्र प्रमुखरसरकार प्रमुखसँग साइडलाइन वार्ता गर्ने निश्चित भइसकेको मन्त्रालय स्रोतले जनाएको छ । अरूसँग पनि भेटवार्ताको समय तालिका मिलाउने काम भइरहेको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य उद्देश्य तियानमेनमा आयोजना हुने शाङ्घाइ शिखर सम्मेलन नै हो । उनी उक्त सम्मेलनमा सहभागी भएर तियानमिनबाट रेलमार्फत भदौ १७ गते बेइजिङ जानेछन् । बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका कार्यक्रमको परेडमा समेत प्रधानमन्त्री ओली सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भदौ १८ गते प्रधानमन्त्री ओली नेपाल फर्किने कार्यक्रम छ ।











प्रतिक्रिया