गृह पृष्ठ

महाकुलुङमा विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी तालिम सुरु


५ जेष्ठ २०८०, शुक्रबार ००:००


सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २ दिने विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी वि.व्य.स तथा शि.अ.संघका पदाधिकारीलाई तालिम सुरु भएको छ । रीड नेपाल र महाकुलुङ गाउँपालिकाको संयुक्त आयोजनामा २ दिने तालिमको गाउँपालिका अध्यक्ष सुर्य कुलुङले उद्घाटन गरेका हुन् ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कुलुङले विद्यालय सुधारका लागि वि.व्य.स र शि.अ.संघ पनि उत्तिकै जिम्मेवार रहेको बताए । आफ्ना विद्यालयका वास्तविक समस्या गाउँपालिकामा राख्न अनुरोध गर्दै पालिका शिक्षाको सुधारका सवालमा आवश्यक काम गर्न तयार रहेको बताए ।

तालिममा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको काम कर्तव्य र अधिकार, शैक्षिक नीति नियम, विद्यालयको वर्तमान अवस्थाको लेखाजोखा, सुधार गर्नुपर्ने पक्षहरु ,बालमैत्री विद्यालयको अवधारणा, नेतृत्व विकास लगायतका विषयवस्तुमा जानकारी गराईने रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरिले जानकारी दिए । तालिममा महाकुलुङ गाउँपालिका भित्रका २१ वटा विद्यालयका वि.व्य.स अध्यक्ष, शि.अ.संघ अध्यक्ष र महिला सदस्य प्रतिनिधि गरी ४२ जनाको सहभागिता रहेको छ ।

तालिमको सहजीकरण रीड नेपालका शिक्षा संयोजक केशव देव गिरी, फिल्ड अफिसर सुरेन्द्र कार्की, शिक्षा शाखा प्रमुख झमक बहादुर कटवालले गरिरहेका छन् । तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, शिक्षा शाखा प्रमुख झमक बहादुर कटवालको उपस्थिति रहेको थियो ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार ००:००