गृह पृष्ठ

पाेखरामा रवि पक्राउ र सहकारी पीडितकाे प्रदर्शन


४ कार्तिक २०८१, आइतबार ००:००


काठमाडाैँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा सो पार्टीका नेता कार्यकर्ताले आइतबार पनि प्रदर्शन गर्ने भएका छन् । अर्कोतिर सहकारी पीडितहरुले समेत पोखरामै आन्दोलन गर्ने भएका छन् ।

एक पक्षले रवि पक्राउको विरोधमा प्रदर्शन गर्ने र अर्कोतर्फ सहकारी पीडितले रविलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने भएपनि तनावको अवस्था सिर्जना भएको छ । रास्वपाले सहिद चोकमा भेला हुने आइतबार बिहानैदेखि माइकिङ गरिरहेको छ भने सोहीअनुसार नेता कार्यकर्ता र शुभेच्छुक भेला हुने क्रम सुरु भइसकेको छ ।

यस्तै सहिद चोक नजिकै सहकारी पीडितको आन्दोलन हुने भएको छ । मुस्ताङ चोकमा भेला भएर पीडितहरुले राष्ट्र बैंक चोकसम्म प्रदर्शन गर्ने बताइएको छ । राष्ट्र बैंक चोक र सहिद चोकको दूरी करिब ५० मिटरमात्रै रहेको छ । दुबै पक्षले नजिक नजिकै प्रदर्शन गर्ने भएपछि झडपको स्थितिलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रदर्शन हुने स्थानबाट कास्की जिल्ला अदालतको दूरी करिब १०० मिनेटमात्रै रहेको छ । सहकारी ठगीमा संलग्नताको आरोपमा प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेर पोखरा ल्याएको थियो । लामिछानेलाई आजै अदालतमा पेस गरिँदैछ ।

याे पनि पढनुहाेसः

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ। प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्दै नेपाल त्यस विकासबाट लाभ लिन चाहने बताए।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे।
प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार-सरकार, जनता-जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताए। प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको स्मरण गराए।

चिनियाँ नेता छेन्ले आफू महासचिव जिनपिङको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालको सुख र समृद्धिमा चीनको सँधै साथ रहने स्पष्ट गरे। उनले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताए।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठ, विभागका सदस्यद्वय डा अञ्जान शाक्य र गोपाल खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, नेपालका लागि चिनियाँ राजदूत छेन सोङलगायत सहभागी थिए।

प्रकाशित : ४ कार्तिक २०८१, आइतबार ००:००