गृह पृष्ठ

रविलाई मध्यरातमा चितवनबाट पोखरा लगियाे,हिरासतमै मानव अधिकार उल्लघंन, डायरी गायब


२४ मंसिर २०८१, सोमबार ००:००


काठमाडौं, प्रहरी प्रमुख (आईजी) वसन्तबहादुर कुँवरलाई सोधपुछका लागि राष्ट्रिय मानव अधिकार आयोगमा बोलाइए पनि उनी उपस्थित भएनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मध्यरातमा चितवनबाट पोखरा लगिएको घटनामा सोधपुछका आयोगले प्रहरी प्रमुखलाई बोलाएको थियो ।

रविमाथि हिरासतमै मानव अधिकार उल्लघंन भएको भन्दै बयानका लागि बोलाइए पनि सोमबार कुँवर उपस्थित नभएको आयोगका प्रवक्ता टिकाराम पोखरेलले बताए । कुँवर आफू उपस्थित नभएर अपराध अनुसन्धान विभागका एआईजी टेकप्रसाद तामाङ, सचिवालयका डीआईजी दानबहादुर कार्की र प्रहरीकै मानव अधिकार शाखाका एसपी मोहनकुमार थापालाई आयोगको कार्यालयमा पठाएका थिए ।

प्रहरीसँग आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निक्ष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न भनेका थिए ।

प्रहरी प्रमुख कुँवर उपस्थित नभएपछि यस विषयमा कुँवरसँग थप बुझिने पनि प्रवक्ता पोखरेलले बताए । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रविलाई मध्यरातमा त्यहाँबाट पोखरा लगिएको,उनको डायरी समेत गायब पारिएको र मानव अधिकार उल्लंघन गरिएको भन्दै उनकी श्रीमती निकिता पौडेल र पार्टीले आयोगमा उजुरी हालेको थियो । उक्त उजुरीमा आईजी कुँवरकै आदेशमा चितवन प्रहरीले काम गरेको आरोप लगाइएको छ ।

प्रकाशित : २४ मंसिर २०८१, सोमबार ००:००