गृह पृष्ठ

केयू र धुलिखेल अस्पतालबीचको विवाद मिल्याे,नयाँ सम्झौता हुँदै


४ माघ २०८१, शुक्रबार ००:००


काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पातलबीचको विवाद मिलेको छ । विवाद समाधान गर्न गठित समितिले केयू र धुलिखेल अस्पतालबीचको विवाद मिलाएको हो । राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय समितिको प्रतिवेदनलाई केयूका सभाले पारित गरेसँगै विवाद सकिएको हो ।

सिंहदरबारमा बसेको सभाले केयू र धुलिखेलको पूर्ववत् सम्बन्ध यथावत् राख्ने निर्णय गरेको हो । समितिको प्रतिवेदन अनुसार तीन महिनाभित्र नयाँ सम्झौता गरिने छ। यसको तयारीका लागि आयोगका सदस्य अधिकारी नै संयोजक रहेकको समिति गठन गरिएको छ ।

समितिमा विश्वविद्यालयबाट प्राडा ऋषिकेश वाग्ले र प्रा.डा.मनोज हुमागाईं तथा अस्पतालका तर्फबाट डा. विराजमान कर्माचार्य र प्रा.डा राजीव श्रेष्ठ छन् । यो समितिले नयाँ सम्झौताको मस्यौदा आगामी सिनेटमा प्रस्तुत गर्नेछ।

नयाँ सम्झौता नभएसम्म कामकाज गर्न सम्बन्धित डीन र प्रशासकयी निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति गठन गरिएको छ । बैठकमा प्रधानमन्त्री एवं कुलपति केपी ओलीले दुवै संस्था आपसमा मिल्नु उचित भएकाले अलग हुने प्रस्ताव नल्याउन भनेका थिए । २०५९ चैत १९ गतेदेखि केयू र धुलिखेलबीच सहकार्य भएको थियो ।

प्रकाशित : ४ माघ २०८१, शुक्रबार ००:००