केन्द्रको मुख नताकी स्थानीय सरकारले प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भनाइ छ । १७ माघ, झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले शिक्षाको विकास गर्न स्थानीय सरकारहरूले केन्द्रको मुख ताक्न नहुने बताएका छन् ।
स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमूना प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन उद्घाटन गर्दै उनले स्थानीय सरकारहरूले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।
शिक्षाको विकास नभई समृद्धि कल्पना गर्न सकिँदैन,’ उनले भने, ‘अब सैद्धान्तिक शिक्षासँगै प्राविधिक शिक्षा मुलुकको आवश्यकता बनिसकेको छ । त्यसैले स्थानीय सरकारहरूले आफ्नो पहिलो प्राथमिकता शिक्षालाई नै बनाउनुपर्दछ ।
अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो मात्र बनिरहेको उनको भनाइ थियो । सभामुख घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटी अन्त्य हुन आवश्यक रहेको पनि चर्चा गरे । ‘भौतिक विकास पनि चाहिन्छ ।
तर, त्यो मात्र विकास होइन, प्राविधिक शिक्षामा लगानी बढाएर दक्ष जनशक्ति उत्पादन गर्न सकियो भने मात्रै दीगो विकास सम्भव हुन सक्छ,’ उनले भने । उनले नयाँ संविधानले स्थानीय सरकारलाई प्रशस्त अधिकार दिएकाले पहिले पहिलेजस्तो केन्द्रको मुख ताकेर बस्न नहुने पनि बताए ।
मुलुकमा संघीय प्रणाली स्थापनापछि तीन तहको सरकार रहने व्यवस्था छ । त्यसैले स्थानीय सरकारले अब आफ्ना आवश्यकताको पहिचान गरेर गुरुयोजना निर्माण गरेर मात्र अगाडि बढ्नुपर्दछ,’ उनले थपे ।
उनले असल सिर्जना र श्रममा आधारित प्राविधिक शिक्षाको अभावमा मुलुकको ठूलो जनशक्ति विदेश गइरहेको चर्चा गर्दै कतिपय नकारात्मक प्रवृत्तिको लहैलहैमा लागेर पनि विदेशिएको जिकिर गरे । उनले स्थानीय तहलाई आफ्नो क्षेत्रमा राम्रो प्राविधिक र सांस्कृतिक विद्यालय सञ्चालन गर्न सुझाव पनि दिए ।











प्रतिक्रिया