गृह पृष्ठ

गृहमन्त्रीलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीले विरोध प्रदर्शन


२५ माघ २०८१, शुक्रबार ००:००


काठमाडौं, गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गरेको हो ।

टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ पुर्जी जारी भएकाले कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

कांग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । यही विषयमा हिजोको संसद् बैठकमा बोल्ने धेरैजसो सांसदहरूले प्रश्न उठाएका थिए । आज जारी संसद् बैठकमा पनि गृहमन्त्री लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन गर्नुपर्ने माग उठेको छ ।

प्रकाशित : २५ माघ २०८१, शुक्रबार ००:००