गृह पृष्ठ

२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक


४ चैत्र २०८१, मंगलबार ००:००


काठमाडौँ, चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् ।

रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ परेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।

चैत ४ मा मध्यराति १० बजेतिर टोखा स्थित झोर महांकालबाट प्रहरीले ना.७ ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो । ट्रक कुसाङ लामाले चलाएका थिए । उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । उनी ‘फुच्चे’ उपनामले चिनिन्छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले ट्रक चेकजाँच गर्दा ठुलो परिमाणमा युरो र डलर भेटियो । ड्राइभर सिट ‘वोनेट’ भन्दा माथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर बस्नेतले भने, ‘युरो र डलर लुकाएर आरोपी रसुवाको केरुङ तर्फ जाँदै थिए । प्रहरीले बरामद गरेको ट्रकमा ‘सोनी ट्रान्सपोर्ट’ लेखिएको छ । सो ट्रकको धनी कुसाङ नै हुन् ।

विदेशी मुद्रा लिएर केरुङ नाका हुँदै उनी चीनतर्फ सुन किन्न हिँडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ४३ वर्षका कुसाङ यसअघि पनि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए ।

२०७३ पुस १३ मा अपराध महाशाखा (हाल उपत्यका अपराध अनुसन्धान कार्यालय) ले उनलाई पक्राउ गरेको थियो । ५ वर्ष जेल बसेर लामा २०७८ मा रिहा भएका हुन् । त्यस बेला उनी ७ केजी सुनसहित पक्राउ परेको एसएसपी बस्नेतले बताए ।

जेलबाट छुटेपछि लामाले फेरी सुन तस्करी सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सुन तस्करीमा उनले भरिया र चालकको रूपमा काम गर्ने गरेको पाइएको छ । ‘फुच्चे’ लाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी राजस्व अनुसन्धान विभागमा पठाइने एसएसपी बस्नेतले जानकारी दिए ।

प्रकाशित : ४ चैत्र २०८१, मंगलबार ००:००