कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा हरिकिसन रानाकाे शव फेला परेको छ । बेलौरी नगरपालिका-१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान पौने ७ बजेतिर जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको बताए ।
जलेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ । मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय रानाको रहेको कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार राना मंगलबार बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको छ ।
राना बिहान जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जोशी स्वयंम घटनास्थल पुगेका छन् । नेपाल प्रहरीको धनगढीमा रहेको कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ । एसपी जोशीले थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत प्राविधिक सहयोग मागिने बताए ।











प्रतिक्रिया