काठमाडौं,नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले प्रहरीका एक जवानलाई कुटेको भिडियाे बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो । भिडियाे सार्वजनिक भएपछि प्रहरीले छानबिन गर्दा कुट्ने र कुटाई खाने दुवैको पहिचान भयो ।
कुट्ने ट्राफिक प्रहरी इन्स्पेक्टर जितेन्द्रकुमार साह र कुटाई खाने प्रहरी जवान मदन खड्का रहेको खुल्यो । ड्युटीमा रहेको बेला बर्दीमै मध्यसडकमा हातपातमा उत्रिएपछि दुवै जनाको जिम्मेवारी खोस्दै अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले एक विज्ञप्ति जारी गर्दै छानबिनका लागि दुवैलाई जिम्मेवारीबाट हटाइएको बताए । यो विवाद के हो भन्नेबारे प्रहरीले आन्तरिक छानबिन अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार अहिलेसम्मको छानबिनले कुटाइ खाएका प्रहरी जवानले काठमाडौं छिर्न लागेका गाडीहरुबाट अवैध रुपमा रकम उठाएको खुलेको छ ।
घटना हुने बेला भारतीय नम्बर प्लेटको गाडी काठमाडौं छिर्न लागेको रहेछ । प्रहरी र ट्राफिक दुवै आ-आफ्नो ड्युटीमा रहेछन् । त्यही बेला जवानले भारतीय गाडीबाट रुपैयाँ लिएको भन्ने देखिएको छ’,एक प्रहरी अधिकृतले भने, ‘रकम नै लिएको भए पनि कुटपिट गर्न नमिल्ने भएकाले इन्स्पेक्टरमाथि पनि छानबिन गरिएको हो । गलत गरेमा विभागीय कारबाही गर्नुका साटो हातपातमा उत्रनु राम्रो होइन ।











प्रतिक्रिया