Breaking News Post

तिलागाउँका बासिन्दा जोखिममा, उद्धार तथा राहतको लागि आग्रह


६ जेष्ठ २०८२, सोमबार ००:००


काठमाडौं, नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले हिमाली क्षेत्रमा रहेका सबै ताल जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद लामाले हुम्लाको लिमीस्थित तिलागाउँमा १ जेठमा हिमताल फुटेर गाउँ तहसनहस बनाएको घटना चर्चा गर्दै यस्तो बताएका हुन् ।

उनले तिलागाउँका बासिन्दा जोखिममा रहेको भन्दै तत्काल उद्धार तथा राहत सहायताको लागि सरकारको ध्यानाकर्षण गराए । हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको लिमीस्थित तिलागाउँमा जेठ १ गते हिमताल फुटेर गाउँ तहसनहस बनाएको छ ।

४७ सय मिटरमाथि रहेको हिमताल फुट्दा तिलागाउँमा जनधनको क्षति पुगेको छ,’ सांसद लामाले भने, ‘काठका पाँचवटा पुल बगाएको छ । चार पाँच सय रोपनी खेतीमा लाग्ने सिंचाइकुलो क्षतविक्षत बनाएको छ भने १५ किलोवाट क्षमताको विद्युत परियोजना तहसनहस भएको छ ।’

तिलागाउँमा १८ घरका ३२ जना रहेको भन्दै उनले पहिरोपछि उनीहरू नजिकैको बारीमा त्रिपालको छानोमुनि बसिरहेको बताए । १८ घरपरिवारका ३२ जना नजिकैको बारीमा त्रिपाल लगाएर बसेका छन् । २१ महिला, ९ पुरुष, दुई बालक जोखिममा छन् । अप्ठेरो र त्रसित अवस्थामा बसिरहेका छन्,’ उनले भने ।

प्रकाशित : ६ जेष्ठ २०८२, सोमबार ००:००