Uncategorized

“सम्झनाको चोमोलुङ्मा” कबिता सङ्ग्रह लिएर आए कबि रोशन याक्सो


१४ जेष्ठ २०८२, मंगलबार ००:००


जेठ १२,काठमाडौं

कवि रोशन यक्सोको कवितासंग्रह ‘सम्झनाको चोमोलुङ्मा’ शनिबार राजधानीमा लोकार्पण भएको छ।

अनामनगरस्थित युनियन हाउसमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रमुख अतिथिको आसनबाट कृति लोकार्पण गर्नुभएकाे हाे । समारोहमा संचारिका समूहकी केन्द्रीय अध्यक्ष बिमला तुम्खेवा र साहित्यकार सकुन्तला जोशी विशिष्ट अतिथि रहनुभएकाे थियाे ।

कुलपति राईले यक्सोको कवितालाई जनताको कविताको संज्ञा दिँदै यसले समाजका विविध पक्षलाई समेटेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, “पहिले कविहरू जनताबाट अलग थिए, तर अबको कविता जनतासँग जोडिनुपर्छ, जनताको भाषा बोल्नुपर्छ। रोशन यक्सोको कविता जनताको आवाज हो।” उहाँले प्रवासमा रहेर नेपाललाई झक्झक्याउने र बुझाउने काम गरिरहेका साहित्यकारहरूको योगदानको पनि प्रशंसा गर्नुभयाे ।

तुम्खेवा र जोशीले यक्सोको कवितामा समाज रुपान्तरणका लागि भएका विभिन्न आन्दोलनहरूको प्रतिबिम्ब देखिएको बताउनुभयाे । उहाँहरूले कवितामा सबै विषयमाथि समानन्तर विचार प्रस्तुत भएको र यसले पाठकलाई गहिरो प्रभाव पार्ने धारणा राख्नुभयाे ।

हङकङमा बसोबास गर्दै आउनुभएकाे यक्सोको यो पहिलो प्रकाशित कृति हो। हङकङ साहित्यक साझा शृङ्खलाका सहसंयोजक समेत रहनुभएका यक्सोले आफ्ना आमाबुबालाई मञ्चमा आसिन गराउँदै कृति विमोचन गर्नुभएकाे थियाे ।

कार्यक्रममा कवि रीमा केसी र एलिसा एकलासले ‘सम्झनाको चोमोलुङ्मा’ बाट कविता वाचन गर्नुभएकाे थियाे । आयोजक सम्भव समूहले कृतिकार, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र कविता वाचन गर्ने कविहरूलाई सम्मानपत्र प्रदान गरेको थियो। कार्यक्रमको सहजीकरण सम्भव समूहका सदस्य कवि संजीत फलानाले गर्नुभएकाे थियाे ।

प्रकाशित : १४ जेष्ठ २०८२, मंगलबार ००:००