आर्थिक

सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश ३५ प्रतिशत घटयाे


१६ जेष्ठ २०८२, बिहिबार ००:००


काठमाडौं, सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश एक वर्षमै ३५ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७९/८० मा सरकारले सार्वजनिक संस्थानबाट १३ अर्ब ७५ करोड लाभांश प्राप्त गरेकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड पाएको छ ।

अर्थमन्त्री विष्णु पैडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार लाभांश ३५ प्रतिशत घटेको पाइएको हो । सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो। नाफामा रहेका संस्थानहरूको मात्रै खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ ।

त्यस्तै नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६३ करोड रहेको छ। नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८‍.६५ प्रतिशतले बढेको छ ।

कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ। जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ।

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार ००:००