अमेरिकाले महँगो लक्जरियस सुपरयोट अमाडिया लिलाम गर्न लागेको छ । ३२ करोड ५० लाख डलर मूल्य पर्ने यो सुपरयोट रुसको हो । यो सुपरयोट अहिले सान डिएगोमा पार्क गरिएको छ ।
३४८ फिट लामो यसलाई जर्मन कम्पनी लुर्सेनले २०१७ मा विशेष तरिकाले बनाएको थियो । यो सुपरयोट फ्रान्कोइस जुरेट्टीले डिजाइन गरेका थिए । यसको भित्री भाग मार्बलले बनेको छ भने जसमा आठ राजकीय कोठा छन् ।
यसमा एउटा ब्यूटी सैलुन, एउटा स्पा, एउटा जिम, एउटा हेलिप्याड, एउटा स्विमिङ पुल र एउटा लिफ्ट पनि छ । यसमा १६ जना पाहुना र चालक दलका ३६ जना सदस्यहरूको लागि बस्ने व्यवस्था छ ।
२०२२ को फेब्रुअरीमा युक्रेनमाथि रुसले आक्रमण गरेलगत्तै अमेरिकाले यो सुपरयोट फिजीबाट जफत गरेको थियो । अब भने अमेरिकाले यसलाई लिलामीमा बेच्न लागेको हो । लिलामी सेप्टेम्बर १० सम्म चल्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्ध अन्त्य गर्न दबाब दिइरहेको समयमा यो सुपरयोट बेच्न लागिएको हो । युक्रेन युद्ध सुरु भएपछि अमेरिका र यूरोपले पुटिनका नजिकका अति धनाढ्यहरूको सुपरयोट जफत गरेका थिए ।
को हुन् वास्तविक मालिक ?
अमाडियाको असली मालिक को हो भन्ने कुरा अझै पनि अस्पष्ट छ । यसलाई केम्यान टापुहरूमा रहेको मिलमारिन इन्भेस्टमेन्ट लिमिटेडको नाममा दर्ता गरिएको छ । योटको वास्तविक मालिक अर्थशास्त्री र पूर्व रूसी राजनीतिज्ञ सुलेमान केरिमोभ भएको अमेरिकाको दाबी छ ।
केरिमोभ २०१८ देखि अमेरिकी प्रतिबन्धमा छन् । रुसको सरकारी तेल र ग्यास कम्पनी रोसनेफ्टका पूर्व अध्यक्ष र प्रमुख कार्यकारी एडुआर्ड खुदाइनाटोभले आफू यो योटको मालिक भएको दाबी गरिरहेका छन् ।
खुदाइनाटोभले केरिमोभलाई लुकाउनु आफू यसको मालिक भएको दाबी गरिरहेको अमेरिकी अभियोजनकर्ताहरू भन्छन् । सुपरयोट जफत भएपछि यसको विरुद्धमा खुदाइनाटोभले मुद्दा हालेका थिए । यसको लिलामी गलत भएको र यसको कानुनी रूपमा विरोध गरिने विरुद्ध खुदाइनाटोभका वकिल एडम फोर्डले बताएका छन् ।











प्रतिक्रिया