गृह पृष्ठ

कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा,एक जनाको मृत्यु


२५ श्रावण २०८२, शनिबार ००:००


कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा लिएका छन् । शुक्रबार राति एक जनाको मृत्यु हुने गरी भएको घटनाको विषयलाई लिएर कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका छन् ।
सुरक्षा स्रोतका अनुसार अहिले स्थिति नियन्त्रण बाहिर रहेको छ ।

सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने समेत जानकारी लिन नसकिएको स्रोतको भनाइ छ । कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।

‘कैदीबन्दीहरूले थुनुवा कक्षको मूल गेटमा भित्रबाट ताल्चा लगाएका छन् । ग्याँस सिलिन्डर राखेर आगो लगाउने चेतावनी दिएपछि प्रवेश गर्न सकिएको छैन्’, सुरक्षा स्रोतले भन्यो, ‘राति घाइतेको उद्धार गरिए पनि त्यो भित्रको अवस्था के हो रु भन्न यकिन भएको छैन् ।’

१५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् । यो कारागारमा शनिबार राति करिब ११ बजेतिर झडप भएको थियो । उक्त झडपमा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका छन् ।

घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये गोदावरी नगरपालिकाका आयुश भट्ट र धनगढीका रवि चौधरीको आईसीयूमा उपचार भइरहेको कैलालीका प्रपक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।

कारागारभित्र सुरक्षाकर्मी प्रवेश गर्न नसक्ने अवस्था रहेको बताउँदै डीएसपी सिंहले थप विषयमा जानकारी नभएको बताए । कैलाली कारागारमा केही दिनदेखि झडप भइरहेको छ । बिहीबार पनि झडप हुँदा पाँच जना घाइते भएका थिए । त्यसले शुक्रबार राति ठूलो रुप लिएको हो ।

भित्ता फुटाएर निदाएको बेला आक्रमण

कारागारको गेटबाट सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् । भित्र प्रवेश गर्न पाएका छैनन् । प्रहरीका अनुसार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले ब्लक बी मा रहेका कैदीबन्दीमाथि राति अन्धाधुन्ध आक्रमण गरेका थिए ।

स्रोतका अनुसार ब्लक ए बाट बी मा प्रवेश गर्न वर्षौँ पहिले बनाइएको ढोका इँटाले टालिएको थियोे । इँटाले टालिएको सोही ढोका कारागारभित्र रहेका जिमखानाकाा सामानले फुटाएर उनीहरू ब्लक बी मा प्रवेश गरेका थिए ।

ब्लक बी मा रहेका अधिकांश कैदीबन्दी निदाएको अवस्था थियो । उनीहरूले त्यहाँ रड, खुकुरी, चक्कु, इँटालगायतले अन्धाधुन्ध आक्रमण गरेका थिए । ब्लक बीमा सुतेकाहरुलाई आफ्नै ब्लकमा लिएर उनीहरुले कुटेका थिए ।

यो आक्रमणको पछाडि दुई वटा कारण छन् । पहिलो भूपेन्द्र बडुवाल हत्या प्रकरणका कैदी सरूवा र दोस्रो कारागारको नाइके परिवर्तन हो । भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएर थुनामा रहेका तीन जनाको सरूवा गरिएपछि २२ गते पनि कैदीबन्दीबीच झडप भएको थियो । उक्त झडपमा पाँच जना घाइते भएका थिए ।

शुक्रबार राति आक्रमण गर्नेमा बडुवाल हत्या, अर्जुन दास हत्या, अत्तरियामा विद्युतका कर्मचारी खुकुरी प्रहार गर्ने समूहका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । अर्को अहिले कारागार प्रशासनले नाइके परिवर्तन गर्न खोजेको थियो ।

कैदीबन्दीमध्येबाटै नाइके चयन गर्ने भएकाले आफ्नो वर्चश्व जमाउन माथि उल्लेखित समूहबीच विवाद थियो भने स्थानीय प्रशासन र राजनीतिकर्मीहरू बीच पनि शक्ति संर्घष चलिरहेको थियो ।

सुरक्षामा गम्भीर त्रुटि

कैलाली कारागारमा कैदीबन्दीबीच विगतदेखि नै मनमुटाव र झैझगडा हुने गरेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणा स्वयं कारागार पुग्ने गरेका थिए ।

उनीहरूले सञ्चार माध्यमलाई समान्य विवाद मात्र भएकाले साम्य भइसकेको बताउने गरेका थिए । स्रोतका अनुसार शुक्रबार रातिको आक्रमणबारेको सूचना कैलालीका प्रमुख जिल्ला अधिकारी हमाललाई थियो तर उनले उक्त कुरालाई सामान्य रुपमा लिंदा घटनाले गम्भीर मोड लिएको आरोप छ ।

‘कैदीबन्दीले ब्लक बी मा आक्रमण गर्ने योजना बनाएको सूचना प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार नै थियो तर उहाँले त्यो कुरालाई हलुका रूपमा लिनुभयो’, स्रोतले भन्यो, ‘यो घटनाको जिम्मेवारी उहाँले लिनुपर्छ । घटना भएको १४ घण्टा बित्दा पनि उहाँले आधिकारिक जानकारी दिनुभएको छैन् । सुरक्षाकर्मी कारागारमा प्रवेश गर्न नसक्ने अवस्था उहाँहरूकै कारण बनेको हो ।’
अहिले कैदीबन्दीले फुटाएर ब्लक बीमा प्रवेश गरेको टालिएको ढोका कमजोर अवस्थाको थियो । सो ठाउँबाट आक्रमण हुन सक्ने सुरक्षा विश्लेषण थियो । केही दिनअघि प्रमुख जिल्ला अधिकारी हमाललाई यो विषयमा जानकारी गराएर भित्तालाई पुनर्निर्माण गर्न आग्रह गरिएको थियो ।

प्रकाशित : २५ श्रावण २०८२, शनिबार ००:००