काठमाडौं, आदिवासी जनजाति समुदायले ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस काठमाडौंमा भव्य रुपमा मनाइरहेका छन् । देशभरका आदिवासी जनजाति समुदायले संयुक्तरुपमा दिवस मनाएका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह सुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको छ । भृकुटी मण्डलबाट सुरु भएको झाँकी टुँडीखेल परिक्रमा गर्दै सभागृह पुगेको छ ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा पनि जल जमिन र जंगलमा आदिवासी जनजातिको अग्राधिकार कायम गर्न र आदिवासीको स्वायत्त क्षेत्र कायम गर्न माग गरिएको छ । साथै,पाथीभारा क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको काम बन्द गर्न माग गरेका छन् ।











प्रतिक्रिया