गृह पृष्ठ

मोदीले पठाएको निम्तो पत्र सचिव मिस्रीले प्रधानमन्त्रीलाई बुझाए


१ भाद्र २०८२, आइतबार ००:००


काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका लागि औपचारिक निम्तो पाएका छन् । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले बताए ।

आज बिहान नेपाल भ्रमणमा आएका सचिव मिस्री सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने क्रममा सो निमन्त्रणा पत्र बुझाएका हुन् । यद्यपि प्रधानमन्त्री कहिले भारत भ्रमणमा जाने त्यो कुरा अझै टुँगो नलागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने निश्चित भयो अब कहिले जाने त्यो विषयमा दुवै देशका विदेश मन्त्रालयले मिति तय गर्नेछ । यद्यपि भदौ ३१ गते प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने भनी यसअघि नै सार्वजनिक भइसकेको हो तर त्यसको पुष्टि हालसम्म न भारतीय पक्षले गरेको छ न नेपालले गरेको छ ।

प्रधानमन्त्री ओली दुई दिनसम्म भारत भ्रमणमा रहने बताइएको छ । यद्यपि भ्रमण लम्ब्याउने कुराकानी भइरहेको स्रोतले दाबी गरेको छ । भारतीय विदेश सचिव मिस्रीले आज आजै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

त्यसपछि उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ । आजै उनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरी परराष्ट्र सचिव अमृतबहादुर राईसँग दुई पक्षीय भेटवार्ता गर्ने बताइएको छ ।

प्रकाशित : १ भाद्र २०८२, आइतबार ००:००