मुख्य खवर

सुटकेसभित्र मृत भेटिएकी रुबीले भनेकी थिन फोनमा बजारबाट के ल्याउ ?


८ भाद्र २०८२, आइतबार ००:००


काठमाडौं, रौतहटको माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार गौर बजार जान भनेर डेराबाट निस्किइन् । उनले साँझ करिब ६ बजेतिर आमा मिथिला देवी साहलाई फोनमा सोधिन्– बजारबाट केही सामान ल्याउनुपर्ने छ ?

‘सामान सबै छ । केही ल्याउनु पर्दैन,’ आमाको जवाफ थियो । फोनमा त्यति कुरा गरेकी उनै रुबी भने त्यो रातभर फर्किनन् । बरू आइतबार एकाबिहानै आमा मिथिला देवीले अशुभ समाचार सुनिन्– सुटकेसभित्र महिलाको शव भेटियो ।

राति करिब १० बजेतिर नजिकैको प्रहरी चौकी बेलबिछुवाको प्रहरी सहायक निरीक्षक (असई)लाई फोन गर्दै भने– सडकमै डोरीले बाँधिएको अवस्थामा सुटकेस फेला परेको छ । यो सूचनापछि प्रहरी चौकी बेलबिछुवाको टोली घटनास्थल पुग्यो । सूचनाजस्तै एउटा ठूलो निलो रङको सुटकेसलाई बाहिरबाट डोरीले बाँधिएको थियो ।

‘रातिको समय त्यसमाथि शंकास्पद सुटकेस भएकाले हामीले सुरक्षा मात्रै दिएर राख्यौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले अनलाइनखबरसँग भने, ‘कुनै विस्फोटक पर्दाथ पो छ कि भन्ने पनि भयो । वा अरु नै चिज भए पनि स्थानीय तथा वडाको रोहवरमा खानतलासी गर्नु उचित ठान्यौं ।’

रातिबाटै घटनास्थललाई कर्डन गरेर स्थानीय प्रहरीले राख्यो । बिहान भने जिल्लाबाट डीएसपी कार्कीसहितको टोली घटनास्थल पुग्यो । गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । आइतबार बिहान भने प्रहरी टोलीले खानतलासी गर्दा प्रहरी नै अचम्मित भए । उक्त सुटेकसमा महिलाको शव थियो ।

सिंगो शवलाई मिलाएर पट्याए जसरी सुटकेसभित्र कोचिएको रहेछ । यस्तरी शव सुटकेसभित्र मैले पहिलो पटक देखेँ । आफैं छक्क परेँ,’ डीएसपी कार्की सुनाउँछन् । शवको कुनै भागमा पनि चोट पटक लागेको वा शव टुक्रा पारिएको थिएन । नाकमा मात्रै थोरै रगत बगेजस्तो अवस्थामा हातखुट्टा खुम्च्याएर पट्टाएर प्याक गरेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो ।

सुरुमा उक्त शवको पहिचान नभए पनि केहीबेरमा ती महिला उनै रुबी रहेको खुल्यो । जो अघिल्लो साँझ मात्रै आमालाई फोन गरेर बजार गएकी थिइन् । त्यही फोनर्वार्ता नै आमाछोरीको अन्तिम कुराकानी बन्यो ।

शवको प्रकृति हेर्दा हत्या गरेर सुटेकशमा प्याक गरेर फालेको प्रहरीले निष्कर्ष निकालिसकेको छ । शव सनाखतपछि घटनास्थल मुचुल्का गरेर अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।

सीमा नजिकै शव

भारतमा विवाह गरेकी रुबी रौतहटको माइती घर माधव नारायण नगरपालिका–२ माधवपुर हो । डीएसपी कार्कीका अनुसार उनी पछिल्लो समय माधवपट्टीमा डेरा गरेर बस्दै आएकी थिइन् । गौर बजारबाट उनको डेरा करिब एक किलो मिटर टाढा पर्छ ।

माइतीघरकी आफ्नै आमा र ४ वर्षीय छोरासँगै उनी डेरा कोठामा बस्थिन् । भारतमा विवाह गरे पनि रौतहटमा डेरा गरेर बस्नुको कारण भनेर छोराको पढाई रहेको उनको माइती पक्षले बताएको छ ।

जहाँ रुबीको शव भेटिएको छ, उक्त ठाउँबाट डेराको दूरी करिब ५ किलोमिटर रहको प्रहरीले बताएको छ । अहिले भने वरपरका क्लोज सर्किट क्यामेरा ९सीसीक्यामेरा०को फुटेजहरूलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

उनको डेराबाट जति टाढाको दूरीमा शव भेटिएको छ त्यति नै टाढाको दूरीमा नेपाल–भारत सीमा पर्छ । नेपाल–भारत सीमा भएकाले भारतमा लगेर हत्या गरेर नेपालमा शव फालिएको हुनसक्ने आशंका पनि प्रहरीले गरेको छ ।

घटनास्थल अर्कै देशमा हुँदा अनुसन्धानमा असहज हुने र हत्यारा पत्ता लाग्न समस्या हुने भएकाले तराईका जिल्लाहरूमा यस्तो प्रवृत्ति पनि देखिन्छ । अहिले प्रहरीले त्यो कोणबाट पनि अनुसन्धान अघि बढाएको छ ।

सीमा नजिकै शव भेटिएको छ । विवाह पनि भारतमा गरेको भन्ने बुझिएको छ । सीमा पार हत्या हुनसक्ने आशंका पनि अनुसन्धान गरेका छौं,’ सोही घटनाको अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन् ।

रुबीको विवाह करिब पाँच वर्ष पहिला भारतको मुजफ्फरपुरका शिव सागर साहसँग भएको थियो । अहिले मृतक रुबीका श्रीमान्, आमा र भाइलाई सम्पर्क गरेर अनुसन्धान अघि बढाएको छ ।

मोबाइल गायब
कपडासहितको रुबीको शव भेटिए पनि उनले प्रयोग गर्ने मोबाइल भने भेटिएको छैन । हत्याराले हत्यापछि उनको मोबाइल लगेको वा कतै फालेरनष्ट गरेको हुनसक्ने बताइएको छ । प्रहरीले उनको मोबाइल लोकेशनमार्फत पनि अनुसन्धान अघि बढाएको छ ।

जसक्रममा उनको मोबाइल लोकेशन गौर आसपास मात्रै देखिएको छ । तर गौर आपपास नै रुबीको मोबाइल अफ गरी उनलाई अन्तै लगेर हत्या गरेको हुनसक्ने सम्भावना पनि छ ।मोबाइल समेत फेला नपरेकाले अनुसन्धानमा केही असहज भएको प्रहरीले बताएको छ । अहिले भने वरपरका क्लोज सर्किट क्यामेरा ९सीसीक्यामेरा०को फुटेजहरूलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

योसँगै उक्त सुटकेस कसको हुनसक्छ । त्यस्तो सुटकेस कसको घरमा थियो भन्नेबारे पनि प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएको छ । अनुसन्धानलाई उच्च प्राथमिकता दिँदै विभिन्न कोणबाट अनुसन्धान भइरहेको मधेश प्रदेका डीआईजी उमाप्रसाद चर्तुवेदी बताउँछन् । सुटकेसभित्रै शव भेटिएपछि सीमा नाकादेखि सबै कोणबाट अनुसन्धान अघि बढाएका छौं,’ डीआईजी चर्तुवेदीले अनलाइनखबरसँग भने ।

प्रकाशित : ८ भाद्र २०८२, आइतबार ००:००