Breaking News Post

प्रतिक इन्नोभेसन्सकाे आयोजनामा अपांगता भएका व्यक्तिहरूका लागि ‘एआई फर डिसएबिलिटी ह्याकाथन’ हुँदै, आवेदन खुला


१२ भाद्र २०८२, बिहिबार ००:००


नेपालमा पहिलोपटक अपागता भएका व्यक्तिहरूका लागि एआई (Artificial Intelligence) समाधान विकास गर्ने राष्ट्रियस्तरको ह्याकाथनको आवेदन खुला भएको छ । एआईडा (AI for People with Disability) ह्याकाथन नाम दिइएको यस कार्यक्रमलाई प्रतिक इन्नोभेसन्सले आयोजना गरेको हो । कार्यक्रमले विद्यार्थी, डेभलपर, अनुसन्धानकर्ता तथा नवप्रवर्तकलाई एउटै मञ्चमा ल्याई अत्याधुनिक सहायक प्रविधि (Assistive Technology) विकास गर्ने लक्ष्य लिएको छ । यो केवल प्रतियोगिता मात्र नभई नवप्रवर्तन, सहकार्य र सामाजिक उद्यमशीलताको प्लेटफर्म भएको आयोजकको भनाइ छ । यसले समावेशी प्रविधि विकासमा सहयोग पुग्ने आशा गरिएको छ ।

ह्याकाथनको मुख्य विषयवस्तुमा स्मार्ट मोबिलिटी र कम्युनिकेशन टेक्नोलोजी, कग्निटिभ हेल्थ र इमोशन-अवेयर एआई, डिजिटल केयरगिभर र एआई कम्पानियन तथा श्रवण तथा वाक अशक्तताका लागि एआई-आधारित शिक्षा रहेका छन् ।

भदौ ७ देखि खुला भएको आवेदन असोज १० गतेसम्म खुला रहनेछ । छनोट भएका सहभागीहरूले असोज २३ गते ओरिएन्टेसन, असोज २४ देखि ३० गतेसम्म तालिम, कात्तिक २०–२१ मा सेमिफाइनल, र कात्तिक २४–२६ गतेसम्म ४८ घण्टे आवासीय ह्याकाथनमा भाग लिनेछन्। अन्तिम कार्यक्रम मंसिर २८ र २९ गते एआईडा सम्मेलन, र मंसिर ३० गते ग्रान्ड फिनाले हुनेछ ।

प्रतियोगितामा कुल नगद पुरस्कार १ लाख २० हजार रुपैयाँ रहेको छ । यसअन्तर्गत विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेस्रोले २० हजार र विशेष बेस्ट इनोभेसन ट्र्याक विजेताले २० हजार रूपैयाँ प्राप्त गर्नेछन्। नगदसहित विजेता तथा फाइनलिस्टलाई इन्क्युबेसन, परामर्श र सम्भावित लगानीकर्ता तथा संस्थासँग सहकार्यको अवसर समेत उपलब्ध हुनेछ ।

सन् २०२८ सम्ममा यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय सम्मेलनमा रूपान्तरण गर्ने लक्ष्य राखिएको बताइएको छ । आवेदन तथा थप जानकारीका लागि आधिकारिक वेबसाइट www.aida.prateekinnovations.com वा सम्पर्क नम्बर +977 9813376093 / +977 9869724290 मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित : १२ भाद्र २०८२, बिहिबार ००:००