काठमाडौं, निजामती विधेयकको छलफल चलिरहेको बेलामा समय मागेर संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने समिति बैठकबाट बाहिरिएकी छिन् । अनिवार्य अवकाशबारे सत्तारुढ र प्रतिपक्षी दलहरू दुईतर्फ लागेपछि यो विषय पेचिलो बनेको छ ।
सोमबार छलफल चलिरहँदा मन्त्री न्यौपानेले समय मागेको सभापति तुलसीकुमारी दाहालले बताइन् । मन्त्रीले समय माग्नुभयो र मैले नाइँ भन्न सकिनँ,’ सभापति दाहालले भनिन्, ‘कि मन्त्रालयले आफ्नो कुरा छोड्नुपर्यो कि माननीयहरुले सरकारको प्रस्ताव मान्नुपर्यो ।’
समय मागेर संघीय मामिलामन्त्री भगवती न्यौपाने बाहिरिएपछि पनि सांसदहरू भने बैठकमै छन् । उनीहरूले आजै निर्णय गरेर अघि बढ्नुपर्ने बताइरहेका छन् । निजामती कर्मचारीको अवकाश उमेरहद लागू गर्ने विषयमा कुरा मिलेको छैन ।
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले निजामती सेवा विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को बर्ष ६० वर्षको प्राबधान लागू गर्ने सरकारको नयाँ प्रस्तावमा समर्थन जनाएका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले भने यसअघि नै यो विषयमा निर्णय भइसकेको र भइसकेको निर्णय उल्ट्याउन नसकिने अडान लिएका छन् । प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको छ ।
यसलाई सदर गरेर जाने निर्णय भइसकेको उल्लेख गर्दै माओवादी सांसद झक्कुप्रसाद सुवेदीले संसदलाई सरकारले निर्देशित गर्न लागेको बताए । सर्वसम्मत निर्णय उल्ट्याउन सरकार प्रस्ताव लिएर आउने र आफुले भने अनुसार नभए छोडेर हिँड्ने कुरा गलत छ,’ उनले भने । नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले पनि बिना निर्णय समिति उठ्न नमिल्ने बताए ।











प्रतिक्रिया