मुख्य खवर

उद्घाटनको लागि तयार छ पुनर्निर्मित रानीपोखरी


२३ आश्विन २०७७, शुक्रबार ००:००


काठमाडौं, रानीपोखरी पुनर्निमाणको काम सकिएको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि बत्ती जोड्ने र सरसफाइ गर्ने काम भइरहेको छ । रंगरोगनको काम लगभग सकिएको छ । अब यो काम पनि केही दिनमै सकिने र पुनर्निर्मित रानीपोखरी उद्घाटनका लागि तयार हुने राष्ट्रय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरण्का इन्जिनियर राजुमान मानन्धरका अनुसार रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाटै गर्ने योजना छ । २०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन् । लामो समयको अलमल र विवाद पछि रानीपोखरीलाई मल्लकालीन शैलीमा पुननिर्माण गरिएको हो ।

बालगोपालेश्वर मन्दिर पनि मल्लकालमै रहेको ग्रन्थकुट (शिखर) शैलीमै बनेको छ । त्यसअघि राणाकालमा यो मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो । रानीपोखरीलाई प्राकृतिक स्वरुपमा फर्काउन विभिन्न माछाका भुरा पनि हालिने उनले बताए । ‘क्याटफिसबाहेक पोखरीमा उपयुक्त र लेउमा बढी निर्भर हुने माछा हाल्छौं,’ उनले भने,‘पोखरीलाई प्राकृतिक स्वरुपमा फर्काउन यो जरुरी हुन्छ ।’ अब जमलमै पुनर्निर्मित दरबार हाईस्कुल र रानीपोखरीको एकैपटक उद्घाटन गर्ने योजना छ । चीनको सहयोगमा दरबार हाईस्कुल भवनको पनि पुनर्निर्माण भएको थियो ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार ००:००