असार २५ गते जनकपुरधामको तिरहुतियागाछीबाट यसरी लामबद्ध भएर हिँडेका मिटरब्याज पीडितहरू आज करिब १०० किलोमिटर दूरी पार गर्दै रौतहटको चपुर पुगेका छन् । उनीहरूको आजको बास चपुरस्थित धर्मशालामा हुनेछ ।
हिँड्दाहिँड्दै सुन्निन थाले पैताला
वर्षा र गर्मीले मार्चलाई चुनौती बढाइरहेको छ । लगातार हिँड्दा उनीहरूलाई समस्या आउन थालेको छ । लालबन्दीबाट निस्केको पैदल मार्चको क्रममा सिरहाकी कुलसुम खातुन बेहोस् नै भएकी थिइन् । प्राथमिक उपचारपश्चात् उनको अवस्था सामान्य भएको मिटरब्याज पीडितका नेता मनोज पासवानले बताए ।
‘वर्षाले धेरै हैरान पारेको छ । गर्मीको मौसम छ । वर्षा भएर रोकिँदा झन् गर्मी बढ्छ । जसका कारण पैदल हिँडिरहेका पीडितको पैताला सुन्निन थालेको छ । आज कुलसुम खातुन बेहोस नै हुनु भयो,’ उनले सुनाए ।
लगातारको पैदल हिँडाइले पीडितका खुट्टामा फोका उठेका छन् । कसैलाई घाउसमेत लागेको छ ।
पैदल मार्चमा सहभागी सिरहा लहान नगरपालिका–२ गोरथारी भगवानपुरकी २५ वर्षीया पारवती कुमारीको हिँड्दाहिँड्दा खुट्टा सुन्निएको छ ।
परिवारले लिएको ऋण नदेखेकी पारवतीले साढे ३ वर्षअघि बिहे भएर आएपछि मात्र थाहा पाएकी थिइन् । ऋणको उचित सावाँब्याज फिर्ता गर्न चाहे पनि साहुले सम्पूर्ण सम्पत्ति हत्याएर सडकमा पुर्याउने अवस्था आएपछि उनी पैदल मार्चमा हिँडेकी हुन् ।
‘हिँड्दाहिँड्दै खुट्टा सुन्निएको छ । तर जति पीडा भए पनि सहेर काठमाडौं पुग्नु छ । सरकारलाई जगाउनु छ । हामीलाई न्याय चाहिएको छ,’ उनले भनिन् ।
मिटरब्याज पीडित अभियन्ता लक्ष्मी घिमिरेको खुट्टामा फोका उठेको छ । उनले आफू जस्तै धेरै जनाको खुट्टामा फोका उठेको र घाउ भएको बताइन् ।
‘हिँड्दाहिँड्दा मेरो खुट्टामा फोका उठेको छ । म जस्तै धेरै साथीहरूको खुट्टा सुन्निएको छ । तर पनि हिम्मतसाथ हिँडिरहेका छौं,’ उनले भनिन् ।
जतिसुखै दु:ख भए पनि काठमाडौं पुगेर सिंहदरबारलाई आफ्नो आवाज सुनाउने अठोटका साथ उनीहरू अघि बढिरहेका छन् । दिनभरि नारा–जुलुससहित पैदल यात्रा गर्ने र राति विश्राम लिने क्रम जारी छ ।
दैनिक २० किलोमिटर हिँडाइ
मिटरब्याज पीडितहरू दैनिक २० किलोमिटर बढी यात्रा गरिरहेका छन् । प्रधानमन्त्री बालेन शाहले ४ माघको रास्वपा सभामा अब उखु किसान र मिटरब्याज पीडित अधिकार माग्न काठमाडौं धाउन नपर्ने उद्घोष गरेका थिए । त्यही स्थान जनकपुरधामको तिरहुतियागाछीबाट असार २५ गते उनीहरूले मार्च पास सुरु गरेका थिए ।
पहिलो दिन करिब २० किलोमिटर दूरी पार गर्दै उनीहरू धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा बास बसेका थिए । दोस्रो दिन असार २६ गते त्यहाँबाट हिँडेर झण्डै २० किलोमिटर दूरी पार गर्दै बर्दिबासको माइस्थान पुगेपछि पञ्चधुरा मन्दिर परिसरमा विश्राम गरेका थिए ।
त्यसपछि शनिबार बिहान त्यहाँबाट प्रस्थान गरी २० किलोमिटरभन्दा बढी यात्रा गर्दै सर्लाहीको लालबन्दी पुगेका थिए । राति लालबन्दीमा विश्राम गरेपछि आइतबार बिहान रौतहततर्फ लागेका उनीहरू आज चन्द्रनिगाहपुरको धर्मशालामा आराम गर्ने छन् ।
दिनभर हिँड्ने मार्च यात्री दिउँसो एक पटक र राति एक पटक भोजन गर्छन् । आर्थिक अवस्थाका कारण खाजा भने खाँदैनन् । चन्दा संकलन गर्दा पनि लक्ष्यअनुसार नजुटेपछि खाजाको लागि समस्या भएको अभियन्ता मनोज पासवानको भनाइ छ ।
‘हामी पीडितहरूबाटै ५०–१०० रुपैयाँ संकलन गर्छौं । तर अपेक्षित पैसा उठ्न सकेन । त्यसकारण खानाको मात्र व्यवस्था हुन सक्यो । खाजा नखाई हिँडिरहेका छौं,’ उनले भने ।
यसरी अघि बढिरहेका पीडितहरूको ६ सूत्रीय माग छ । मिटरब्याजसँग सम्बन्धित तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन, चेकलगायत सबै फर्जी लिखत मन्त्रिपरिषद्को निर्णयमार्फत अवैध घोषणा गरी खारेज हुनुपर्ने, मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी विशेष ऐन निर्माण गरी कडाइका साथ कार्यान्वयन हुनुपर्ने, मिटरब्याजसम्बन्धी मुद्दाको शीघ्र सुनुवाइका लागि विशेष न्यायाधिकरण गठन गर्नुपर्ने, फर्जी मुद्दाको पुनरावलोकन गर्न तथा पीडितमैत्री न्यायिक संयन्त्र स्थापना गर्नुपर्ने उनीहरूको माग छ ।
यस्तै, साहु–महाजनले अवैध रूपमा आर्जन गरेका सम्पत्ति छानबिन गरी गैरकानुनी सम्पत्ति जफत तथा बैंक कारोबारको आधारमा अनुसन्धान गर्नु पर्ने, पीडितको चल–अचल सम्पत्ति फिर्ता गराई दोषीलाई कानुनी कारबाही गर्नुपर्ने, क्षतिपूर्ति तथा सम्पत्ति फिर्ता प्रक्रियामा सहुलियत दिनु पर्ने माग उनीहरूको छ । शोषित, उत्पीडित तथा साना व्यवसायीलाई सहज ऋण, वित्तीय पहुँच र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्ने विशेष कार्यक्रम सञ्चालन गर्नु पर्ने पनि पीडितको माग छ ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष कुशवाहाको नेतृत्वमा अघि बढिरहेको यो पैदल मार्चले काठमाडौं पुगेर सशक्त आन्दोलन गर्ने लक्ष्य लिएको छ ।
यसअघिका सहमति कार्यान्वयन भएनन्
मिटरब्याज पीडितको यो तेस्रो पैदल मार्च हो । यसअघि २०७९ चैत २ गते बर्दिबासबाट निस्केका मधेशका ७२ जना मिटरब्याज पीडित पैदल मार्चपास गर्दै ११ दिनमा काठमाडौं पुगेका थिए ।
मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानको नेतृत्वको उक्त पैदल मार्च आन्दोलन सशक्त हुँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड माग पूरा गर्न सहमत भएका थिए । सरकार र आन्दोलनकारीबीच पाँच बुँदे सहमति भएको थियो ।
सहमतिअनुसार सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । तर पीडितहरू ठूलो संख्यामा भए पनि न्याय न्यून मात्र पाए ।
आयोगको समय सकिएपछि दोस्रो पटक २०८० माघ १६ गते मेची र महाकालीबाट एकैपटक मिटरब्याज तथा ठगीविरुद्ध आन्दोलन गरेका थिए । किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा करिब ४०० को संख्यामा काठमाडौं पुगेर आन्दोलन गरेका थिए ।
मिटरब्याज पीडितको सशक्त आन्दोलनपश्चात् २८ फागुन २०८० मा फेरि सरकार र मिटरब्याज पीडितबीच वार्ता भई चार बुँदे सहमति भयो । यसको फलस्वरुप २०८० चैत ९ गते सरकारले दोस्रो पटक पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गर्यो ।
त्यस बेला पनि ठूलो संख्यामा उजुरी परे पनि सुनुवाइ भने न्यून संख्यामा मात्र भयो । त्यसकारण यो विषय अहिलेसम्म जटिल बनेको छ । बेलाबेला मिटरब्याज पीडितको आन्दोलन भए पनि हजारौं पीडितले न्याय पाउन सकेका छैनन् । मिटरब्याजीहरूले अदालतबाट निषेधाज्ञा मुद्दाको सहयोग लिँदा र प्रहरी प्रशासन प्रभावित गर्दा न्याय नपाएको उनीहरूको गुनासो छ ।
यस्ता मिटरब्याज पीडित देशभर ६० हजारभन्दा बढीको संख्यामा रहेको पीडितहरूको भनाइ छ ।











प्रतिक्रिया