समाचार

नयाँ प्रणालीबाट राहदानी वितरण थालियो


२९ असार २०८३, सोमबार ००:००


२९ असार, काठमाडौं । सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ ।

सोमबार राहदानी विभागमा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत ओस्कार गुरुङ र निमेश शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गरेका हुन् । यसअघि १५ वर्षदेखि फ्रान्सेली कम्पनी आईडिमियाले नेपालको पासपोर्ट छाप्दै आएको थियो ।

अब जर्मन कम्पनीले छापेका पासपोर्ट आजबाट सुरु गरेको हो ।

नेपालको इतिहासकै सवैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

 

करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रुपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको मन्त्री खनालले जानकारी दिए ।

नयाँ प्रणालीको तयारीका लागि दुई–तीन दिनअघि देखि विभाग र वैदेशिक नियोगहरूमा पासपोर्ट वितरण कार्य बन्द गरिएकोमा, नयाँ प्रणालीमार्फत वितरण कार्य सफलतापूर्वक सुरु भएको उनले बताए ।

उनले हाल परीक्षण गर्दा प्रविधि ठीक देखिए पनि प्रक्रियागत रूपमा केही सामान्य प्राविधिक समस्याहरू आउन सक्ने सम्भावनालाई ध्यानमा राखी राहदानी विभाग र परराष्ट्र मन्त्रालयका प्राविधिक टोलीहरू ’स्ट्यान्डबाइ’ अवस्थामा रहेको बताए ।

प्रकाशित : २९ असार २०८३, सोमबार ००:००