समाचार

व्यक्तिगत आयकर सीमा न्यूनतम १० लाखको प्रावधान शुक्रबारदेखि लागु


३२ असार २०८३, बिहिबार ००:००


३२ असार, काठमाडौं । सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान शुक्रबारदेखि लागु हुँदैछ ।

आगामी आर्थिक वर्ष २०८३/८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्‍याएको छ । नयाँ आव शुक्रबारदेखि सुरु हुँदैछ । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाएको छ ।

अर्थ मन्त्रालयका अनुसार करको बोझ घटाउन आयको न्यूनतम सीमा बढाइएको हो । आर्थिक ऐन २०८३ अनुसार १० लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भए अब १ प्रतिशतमात्र कर लाग्ने छ ।

तर, एकलौटी फर्म दर्ता भएका करदाताका हकमा निवृत्तिभरण बापत आय निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस खण्ड बमोजिमको कर लाग्ने छैन ।

१० लाख रुपैयाँभन्दा बढी तर १५ लाखसम्म करयोग्य आय भए १० लाखसम्म १० हजार रुपैयाँ र १० लाखभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयकर लाग्ने छ । १५ लाख रुपैयाँभन्दा बढी तर २५ लाखसम्म करयोग्य आय भए १५ लाखसम्म ६० हजार र १५ लाखभन्दा बढी करयोग्य आयमा २० प्रतिशत आयकर लाग्ने व्यवस्था बजेटले गरेको छ ।

२५ लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए २५ लाखसम्म २ लाख ६० हजार र २५ लाखभन्दा बढी करयोग्य आयमा २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए बढी भएजति करयोग्य आयमा थप २ प्रतिशत बिन्दुले अतिरिक्त कर लाग्ने व्यवस्था बजेटले गरेको हो ।

अहिले आयकर ऐन २०५८ मा एकल व्यक्तिका हकमा पहिलो ५ लाख रुपैयाँसम्म र दम्पतीका हकमा पहिलो ६ लाख रुपैयाँसम्मको वार्षिक आयमा एक प्रतिशत सामाजिक सुरक्षा करमात्र लिने व्यवस्था छ ।

त्यसभन्दा माथिको अर्को २ लाखमा १० प्रतिशत, अर्को ३ लाखमा २० प्रतिशत, अर्को १० लाखमा ३० प्रतिशत र अर्को ३० लाखमा ३६ प्रतिशत कर लाग्दै ५० लाखभन्दा बढीको आम्दानीमा ३९ प्रतिशत कर लाग्ने कानुनी व्यवस्था छ ।

प्रकाशित : ३२ असार २०८३, बिहिबार ००:००