Breaking News Post

टिमुरेवासीको चाहना: सीमा रक्षक हौँ, उतै फर्किन्छौं


३१ भाद्र २०८३, बुधबार ००:००


३१ भदौ, काठमाडौं । कोही मन्त्र जपिरहेका छन् । कोही मौन छन् । आफन्त गुमाएकाहरू पूजापाठ गरिरहेका छन् । तर सबै बेचैन देखिन्छन् । काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बाको प्राङ्गणको दृश्य हो यो । यहाँ भदौ १० गतेको भोटेकोशी बाढीबाट विस्थापित भएर आएका रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका २५० स्थानीय छन् । उनीहरूले आफ्नो कोही न कोही गुमाएका छन् ।

‘भाग्न सक्नेहरू वनतिर भागे । नसक्नेहरू बगे । टिमुरेका धेरै मान्छे बगे नि । नसोचेको भयो । दुःख पर्‍यो,’ ६७ वर्षीया लाक्पाछे घलेले भनिन्, ‘चिन्ताले रोएर–रोएर आँखा सुन्निएको छ । अहिले यहाँ छौँ, भोलि कहाँ जाने हो थाहा छैन । ‘जाने मान्छेहरू गइसके । हामी बाँचेकाहरूले जाने मान्छेका लागि धर्म गर्नुपर्‍यो नि ।’

छिमेकमा अलि पर सुत्केरी र बच्चा हेर्न गएका कारण उनी जोगिएकी रहिछिन् । अहिले उनी यही गुम्बामा आश्रय लिएर बसेकी छिन् ।

अहिले यो गुम्बा टिमुरेका बाढी विस्थापितको लागि होल्डिङ सेन्टर बनाइएको छ । गुम्बाको भित्र फलामको खाट छ । कोही खाटमाथि त कोही भुईँमा म्याट बिच्छ्याएर बसेका छन् ।

त्यहीं भेटिए नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका प्रधानाध्यापक फुर्पु दोर्जे घले । उनी पनि विस्थापित भएर यहाँ आएका हुन् । घले विस्थापित भएर आएकाहरूको व्यवस्थापनमा खटिएका छन् ।

‘कोही खाटमाथि, कोही मुनि मिलाएर बसिरहेका छौँ,’ उनले भने, ‘टिमुरे जान घर छैन । त्यही भएर हामी सबै होल्डिङ सेन्टरमा बसिरहेका छौँ । विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।’

स्थानीय १४५ जना बेपत्ता

प्रधानाध्यापक घलेका अनुसार त्यो दिन टिमुरेमा स्थानीय बासिन्दा मात्रै २५० भन्दा बढी थिए । ‘उद्धार भएर आएका ९५ जना पनि पुगेका छैनौँ । १४५ जना जति त्यहीँ बेपत्ता हुनुभयो,’ उनले भने, ‘२०० वटाजति घर थिए । अहिले छैनन् ।’

एक–दुई वटा घर बाढीको फोर्स नपुगेकाले बचेका छन् । तर ती पनि बस्न लायक नभएको उनले बताए ।

२०७८ सालको जनगणना अनुसार टिमुरेमा १६३ घरमा ५५० जनसंख्या थियो । तर बाढीमा कति मान्छे परे भन्ने यकिन विवरण छैन । उनको विद्यालयका मात्र २५ जना विद्यार्थी र ६ जना शिक्षक सम्पर्कमा छैनन् । ‘१० जना विद्यार्थी मात्र भागेर जोगिएका छन्,’ घलेले भने ।

बाढीमा स्थानीय बाहेक अरू मानिस पनि धेरै परेका छन् । ‘टिमुरेमा बैंक मात्र सात वटा थिए । भन्सार, अध्यागमन, विभिन्न क्वारेन्टाइन र तीनवटै सुरक्षा निकायका कार्यालय थिए,’ उनले भने, ‘करिब २ हजारको हाराहारीमा परेको हुनुपर्छ । कैलाश जाने पर्यटकहरूको घुँइचो थियो । कन्टेनर गाडीहरू ७–८ सय जति थिए । चालक र सहचालक परेका छन् ।’

उनका अनुसार घट्टेखोलामा ठूला–ठूला सुविधासम्पन्न चार–पाँच वटा होटल थिए । त्यहाँका होटल भरिएका थिए । ‘टिमुरेमा पनि तीन–चार वटा होटल प्याक थिए । टिमुरेदेखि भन्सार कार्यालयको ठाउँसम्म जति मानिस थिए, उनीहरू बाँचेनन्,’ उनले भने ।

बाढीको कुनै सूचना नभएका कारण धेरै क्षति भएको उनको बुझाइ छ । ‘केही सूचना थिएन । सूचना भएको भए केही न केही बढी मानिस बाँच्न सफल हुने थिए । यो आकस्मिक रूपमा आएको हो,’ उनले भने ।

बुद्धिस्ट संस्कारअनुसार काजकिरिया, खर्च छैन

बुद्धिस्ट संस्कारअनुसार उनीहरूले गुम्बामा काजकिरिया सुरु गरेका छन् । ‘आफ्नो रीतिरिवाज, धर्म–संस्कारअनुसार बितेका मानिसका लागि घेवा गर्न ४९ दिनसम्म यहीँ बस्छौँ,’ प्रधानाध्यापक घलेले भने, ‘त्यत्रो मानिस बित्नुभएको छ । आफ्नो धनसम्पत्ति गयो ।’

काजकिरिया गर्ने खर्चसमेत नभएको गुनासो उनीहरूले गरेका छन् । ‘हामीले दैनिक रूपमा, हप्ता–हप्तामा छेमी बाल्नुपर्छ । पाठपूजा गर्नुपर्छ । त्यसका लागि हामीसँग पैसा छैन । ४९ दिन सकिसकेपछि दिएको किरिया खर्चको अर्थ हुँदैन,’ उनले भने, अहिले गर्नुपर्ने बेलामा पाएनौँ भने पछिको अर्थ हुँदैन । राज्यले नै लगोस् । हामी स्वयम्भूमै रोडमा मागेर खाएर बाँचौँला । तर बितेकाहरूलाई हाम्रो धर्मकर्मले अलपत्र राख्न मिल्दैन ।’

पीडितहरूले सरकारसँग किरिया खर्चको अपेक्षा राखेका छन् । ‘तेस्रो हप्ता भइसक्यो । अब जम्मा चार हप्ता छ । किरिया खर्च छिटो उपलब्ध होस्,’ घलेले भने ।

प्रकाशित : ३१ भाद्र २०८३, बुधबार ००:००