समाचार

कहिले पर्छ ठूलो पानी ? काठमाडौंमा कस्तो असर पर्ला ?


७ आश्विन २०८३, बुधबार ००:००


७ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली क्रमश: शक्तिशाली बन्दै गएको छ । यसलाई मौसमविद्हरूले निगरानी गर्दै अध्यावधिक सूचना जारी गर्दै आएका छन् ।

यो समाचार तयार पार्दासम्म साइक्लोन (चक्रवात) को रूप लिइसकेको छैन । चक्रवातको रूप लियो भने त्यसको शक्ति यकिन हुन्छ र प्रभाव अझ बढी स्पष्ट हुन्छ । साइक्लोन नबनेर न्यूनचापीय क्षेत्रमा सीमित हुँदा पनि त्यसमा शक्ति भने हुन्छ । त्यसैले यसको प्रभावले नेपालभर वर्षा (वाइड स्प्रेड रेन) गराउने सम्भावना छ ।

प्रणाली भारततर्फ प्रवेश गरेपछि जमिनसँगको घर्षणका कारण यसको शक्ति क्रमश: कमजोर हुने गर्छ । तर त्यसबाट बनेको बादल, जलवाष्प र वर्षाको प्रणाली भारत हुँदै नेपालसम्म आइपुग्ने छ ।

यो प्रणालीको बाटो र शक्ति कस्तो हुन्छ भन्ने कुराले नेपालमा पर्ने प्रभाव निर्धारण गर्नेछ । यसको बाटो परिवर्तन पनि हुनसक्ने भएकाले अहिले नै वर्षाको मात्रा र त्यसले गर्ने असर यकिन गर्न भने कठिन छ ।

काठमाडौंमा कस्तो असर होला ?

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार अहिलेसम्मको आँकलनमा यो प्रणाली भारतको झारखण्ड हुँदै उत्तरप्रदेशको गोरखपुर हुँदै बिहारतिर आउने सम्भावना देखिएको छ ।

‘यदि बिहार र उत्तर प्रदेश आसपास हुँदै आयो भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी जोखिम हुनसक्छ,’ सिग्देलले भने, ‘अहिलेको आँकलनले गोरखपुरतिर हुँदै अघि बढ्ने सम्भावना बढी देखिएको छ । यदि यो आँकलन मिल्यो भने काठमाडौं उपत्यकासहित बागमतीको पूर्वी भेग, लुम्बिनी र गण्डकीमा झन् बढी असर गर्न सक्छ ।’

मौसम विज्ञान विभागले पनि लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव पर्नसक्ने अनुमान सार्वजनिक गरेको छ ।

काठमाडौं तीव्र शहरीकरण भएको, खोलानाला चपेटामा परेको र निकास राम्रो नभएको क्षेत्र भएकाले पनि काठमाडौंमा लगातार ५० देखि ८० मिलिमिटर मात्रै वर्षा भए पनि डुबान हुनसक्ने उनले बताए ।

‘लुम्बिनीतिरमा एक/डेढ सय मिलिमिटर पानी पर्दा र काठमाडौंमा ५० मिलिमिटर जति मात्रै पानी पर्दा जोखिम निम्त्याउन प्रयाप्त हुन्छ,’ सिग्देल भन्छन्, ‘त्यसैले विगतमा नक्खु लगायतका क्षेत्रमा भएको डुबानको अवस्थालाई हेरेर जोखिमबाट जोगिने तयारी गर्नु आवश्यक छ ।’

बिहीबारदेखि मौसम प्रभावित हुने, शुक्रबारदेखि मुख्य जोखिम

नेपालमा यो मौसमी प्रणालीको प्रभाव आज बिहानैदेखि देखिन थालिसकेको छ । बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । बिहीबारदेखि वर्षा र बादलको क्षेत्र अनि मात्रा थप बढ्ने पूर्वानुमान रहेको मौसमविद डेभिड ढकालले बताए । यसको बढी प्रभाव ९, १० र ११ गते देखिने पूर्वानुमान नेपाल मौसम विज्ञान विभागले गरेको छ ।

विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार यो प्रणालीको प्रभावले नेपालभर नै वर्षा वा हिमपात हुनेछ । कुनै कुनै ठाउँमा हावाहुरी पनि चल्ने छ । यद्यपि अहिलेसम्मको आकलनमा लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा तुलनात्मक रूपमा बढी वर्षा र हिमपात हुनसक्ने सम्भावना छ ।

यसको प्रभावले तराईमा डुबान, पहाडमा पहिरो र हिमालमा हिमपात हुने सम्भावना भएकाले सतर्कता भने देशभर नै आवश्यक रहेको मौसमविदहरु बताउँछन् ।

 

 

 

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक सिग्देल पनि यस प्रणालीको प्रभावले पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्म नै सतर्कता आवश्यक रहेको बताउँछन् ।

उनका अनुसार ठूलो वर्षाको पहिलो जोखिम तराई क्षेत्रमा बाढी तथा डुबानको हो । नदी तथा खोलामा पानीको बहाव बढ्दा नदी किनार र होचा भूभागका बस्ती प्रभावित हुन सक्छन् ।

पहाडी क्षेत्रमा भने पहिरोको जोखिम बढी हुन्छ । पछिल्लो समय धेरै क्षेत्रमा जमिन भिजिसकेको र सडक तथा भौतिक संरचना पनि विभिन्न विपद्का कारण कमजोर अवस्थामा रहेकाले थप वर्षाले जोखिम बढाउन सक्छ ।

‘मनसुनको उत्तरार्द्धमा भएकाले जमिन भिजेर कमजोर भइसकेको हुँदा केहीबेर पानी पर्दा पनि जोखिम धेरै हुन्छ । त्यसैले हामीले ठूलोको तयारी गर्यौं भने सानोलाई थेग्न सक्छौं,’ सिग्देलले भने ।

उच्च हिमाली क्षेत्रमा ‘रेड अलर्ट’

मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनको जोखिम नक्सामा उच्च हिमाली भेगका जिल्लामा पनि उच्च जोखिम हुने भन्दै रातो रंगले संकेत गरेको छ । त्यसको कारणबारे विभागकी प्रवक्ता विभूति पोखरेल भन्छिन्, ‘हिमाली भेगमा स्नो स्ट्रोम (हिम आँधी)को सम्भावना छ । त्यसैले माथितिर अलि बढी नै जोखिम हुनसक्ने अनुमान गरिएको हो ।’

त्यसैले उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा रहेकाहरूले मौसमको अवस्था हेरेर आफ्नो यात्रा व्यवस्थापन गर्नुपर्ने मौसमविदहरुको सुझाव छ । ‘अहिले ट्रेकिङमा नजाने, गएको भए सुरक्षित स्थानमा गइहाल्ने गर्नुपर्छ,’ मौसमविद सिग्देलले भने ।

१५० मिलिमिटर वर्षा पनि हुनसक्छ जोखिमपूर्ण

कतिपय स्वतन्त्र मौसमविदहरूले यो प्रणालीको प्रभाव अवधिभर ४०० मिलिमिटरसम्म वर्षा हुनसक्ने सम्भावना रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपालमा मौसमबारे जानकारी दिने आधिकारिक निकाय मौसम विज्ञान विभागले भने वर्षाको मात्रा आकलन सार्वजनिक गरेको छैन तर केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने भनेको छ ।

विभागका अनुसार ५० मिलिमिटरभन्दा धेरै र एक सय मिलिमिटरभन्दा कम पानी पर्नुलाई भारी वर्षा भनिन्छ । यसैगरी १०० मिलिमिटरभन्दा धेरै र २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई धेरै भारी तथा २०० मिलिमिटर भन्दा बढी पानी पर्नुलाई अति भारी वर्षाको रूपमा वर्गीकरण गरिएको छ ।

जमिन पहिले नै भिजेको अवस्थामा २४ घण्टामा १०० देखि १५० मिलिमिटर वर्षा भए पनि पहिरो, बाढी र सडकमा क्षति हुने जोखिम हुने मौसमविद् सिग्देल बताउँछन् ।

‘समग्रमा भन्दा ठूलो वर्षा हुन्छ, जमिन कमजोर हुन्छ र त्यसले जोखिम ल्याउन सक्छ,’ सिग्देल भन्छन्, ‘अहिलेको अवस्थामा एक दिनमा एक सयदेखि डेढ सय मिलिमिटर मात्रै वर्षा भयो भने पनि जोखिम हुनसक्छ ।’

सम्भावित जोखिम र जोखिम न्यूनीकरणका लागि गरिने तयारीबारे जानकारी लिन मंगलबार विभागमा गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ ।

प्रणाली भारत हुँदै अघि बढ्दा कमजोर हुनसक्ने भए पनि नेपालमा लामो समयसम्म ठूलो वर्षा गराउन सक्ने सम्भावनालाई बेवास्ता नगरी जोखिमबाट जोगिने तयारी गर्नुपर्ने उनी बताउँछन् ।

विशेषगरी रातिको यात्रा जोखिमपूर्ण हुने भएकाले त्यस्तो समयमा यात्रा गर्न नहुने मौसमविद्‍हरूको भनाइ छ । दिउँसो पनि सम्बन्धित क्षेत्रमा परेको वर्षा, सडकको अवस्था र प्रशासनको सूचनाका आधारमा मात्र यात्रा गर्नुपर्ने उनीहरूले सुझाव दिएका छन् ।

भारी वर्षाले सडक यातायातसँगै हवाई सेवामा समेत प्रभाव पार्नसक्ने भएकाले सम्बन्धित निकायले जोखिमअनुसार यातायात व्यवस्थापन गर्नुपर्ने सिग्देलले बताए । ‘सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै असोज ९ देखि ११ गतेसम्म लामो दूरीको यात्रा सकेसम्म नगरेकै बेस,’ सिग्देल भन्छन् ।

सावधानी र तयारी

जलाधार क्षेत्रमा ठूलो वर्षा हुँदा त्यसको प्रभाव तल्लो क्षेत्रमा रहेका नदी प्रणालीमा देखिने भएकाले नदी, खोला तथा खोल्साको आसपास बसोबास गर्नेहरूले पनि केही दिन विशेष सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।

‘प्रदेश, स्थानीय तह र केन्द्र तीनैतहका सरकारले आ–आफ्नो ढंगले तयारी गर्नुपर्छ र समयमै सही सूचना जोखिमयुक्त क्षेत्रमा पुर्‍याउनुपर्छ,’ सिग्देल भन्छन्, ‘पूर्वसूचना पाएपछि त्यसलाई गम्भीर रूपमा लिएर समयमै सावधानी अपनाउन सके जनधनको क्षति घटाउन सकिन्छ ।’

पहिरो जाने सम्भावित स्थान पहिचान गरी त्यस्ता क्षेत्रमा भारी वर्षाका बेला आवतजावत रोक्ने, नदी तथा खोलाको अवस्था निगरानी गर्ने र जोखिममा रहेका बस्तीलाई समयमै सूचना दिनुपर्ने उनको भनाइ थियो ।

स्थानीय तहले पहिरो तथा बाढीको सम्भावित क्षेत्र पहिचान गर्ने, नदी तथा खोलाको निगरानी बढाउने, जोखिममा रहेका समुदायलाई पूर्वसूचना दिने र आवश्यक परे सुरक्षित स्थानमा सार्ने तयारी गर्नुपर्ने सिग्देलको सुझाव छ ।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै किसानले पनि तत्काल आवश्यक तयारी गर्नुपर्नेछ । पाक्न लागेको धान काट्ने समय र मौसमको अवस्थालाई ध्यान दिनुपर्ने तथा काटिएको धान सुरक्षित स्थानमा भण्डारण गर्नुपर्ने मौसमविद्‍हरू बताउँछन् ।

अफवाह होइन, आधिकारिक सूचना पछ्याउन आग्रह

मौसम प्रणालीको अवस्था परिवर्तन भइरहन्छ । त्यसैले मौसम प्रणालीको दिशा र तीव्रता परिवर्तन हुनसक्ने भएकाले पूर्वानुमान पनि समयअनुसार अद्यावधिक हुने गर्छ ।

त्यसैले सामाजिक सञ्जालमा आउने अपुष्ट सूचना र अतिरञ्जित विवरणका आधारमा धारणा बनाउन नहुने जानकारहरू बताउँछन् ।

मौसम तथा विपद्सम्बन्धी निर्णय गर्दा नेपाल सरकारका सम्बन्धित निकायबाट जारी आधिकारिक सूचना पछ्याउनुपर्नेमा विज्ञहरू जोड दिन्छन् ।

प्रकाशित : ७ आश्विन २०८३, बुधबार ००:००