मन्त्री शेर्पाले भारी वर्षाको जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकारले अगाडिदेखि नै पूर्वतयारी थालेको स्पष्ट पारे। ‘हामीले पूर्वतयारी यसअघिबाटै गरिरहेका छौँ। भारी वर्षा यो ९ गतेदेखि ११ गतेसम्म हुने भन्ने भइराखेको छ,’ मन्त्री शेर्पाले भने, ‘यद्यपि हामीले तयारी चाहिँ यसअघि नै धेरै अगाडि गर्यौँ। अस्ति भदौ १५ गते नै हामीले प्रदेशको सुरक्षा समिति र विपद् समितिको बैठक बसेर प्रदेश सरकारलगायत सम्बद्ध निकाय सबै अति तम्तयारी अवस्थामा रहने भन्ने निर्णय भइसकेको छ।’
‘सम्भावित विपद् क्षेत्रको नागरिकहरूलाई सचेत गराउने काम पनि भइराखेकै छ, सम्बन्धित क्षेत्रको प्रहरी प्रशासनको तर्फबाट पनि अनौपचारिक रूपमा, औपचारिक रूपमा सम्बन्धित जिल्ला प्रशासनहरू, सबै सुरक्षा निकायहरू, सरोकारवालाहरूसँग निरन्तर सम्पर्क र समन्वय भइराखेको छ,’ उनले भने ।
कुनै पनि विपद् आइपरे तत्काल उद्धारमा खटिन टोलीहरू तयारी अवस्थामा रहेको बताउँदै उनले भने, ‘विपद्को पूर्वसूचना गरेर नागरिकहरूलाई त्यसबाट जोगाउने र भोलि सङ्कट आइलागेमा फेरि त्यसको उद्धारको लागि हाम्रो प्रदेश पूर्ण तयारी अवस्थामा छ।’
मन्त्री शेर्पाले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई पानी परेको बेला सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। उनले भने, ‘जोखिमको सम्भावित विशेष गरी धेरै ठुला खोला, नाला, नदीको नजिकमा रहेका नागरिकहरू, जो चाहिँ सम्भावित बाढी पहिरो आउने ठाउँमा हुनुहुन्छ, धेरै ठुलो पानी परेको अवस्थामा चाहिँ त्यसबाट अलिकति पर, अलि टाढा गएर सुरक्षित ठाउँमा रहन आह्वान गर्छौँ, गर्यौँ, गरिसकेका छौँ।’
मौसम पूर्वानुमान महाशाखाले असोज ९, १० र ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेको बताएको सन्दर्भमा मन्त्री शेर्पाले मनसुनको अन्त्यतिर प्राकृतिक विपद्को इतिहास असाध्यै जोखिमपूर्ण रहने गरेको स्मरण गराए। उनले भने, ‘९ गते, १० गते र ११ गते तीन दिन चाहिँ धेरै ठुलो भारी वर्षा हुने मौसम पूर्वानुमानले भनेको छ।
त्यसमाथि यो वर्षाको अन्तिम–अन्तिम पनि हो। यो अन्तिम–अन्तिम अवस्थामा विगतको इतिहासहरूले पनि असाध्यै ठुलो–कि सुरुमा कि अन्तिममा जोखिम ल्याएको छ। यो जोखिम आउन सक्छ, त्यसकारण सबै सचेत रहन हामीले सम्बन्धित निकायबाट आह्वान गरिरहेका छौँ, माइकिङहरू पनि गराइसकिएको छ।’











प्रतिक्रिया