मनोरञ्जन

‘सूर्य इन्टरनेशनल अवार्ड’ को तेश्रो संस्करण अमेरिकामा हुने


२ पुस २०७७, बिहिबार ००:००


काठमाडौं, ‘सूर्य इन्टरनेशनल अवार्ड’ को तेश्रो संस्करण अमेरिकामा हुने भएको छ । संस्थाका अनुसार २०२० मै आयोजना हुनु पर्ने अवार्डको तेस्रो संस्करण कोरोना माहामारीका कारण २०२१ मा हुन लागेको हो। सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले यस पटकको ‘सूर्य इन्टरनेशनल अवार्ड’ केही रोचक र फरक हुने बताएका छन् ।

उनका अनुसार, अवार्डको सम्पूर्ण तयारी काठमाडौंमा हुने छ भने नोमिनेशन जापानको टोकियोमा हुनेछ । अवार्ड समारोहलाई अमेरिकामा गरिने उनले बताए । कर्पोरेशनले सामाजिक सञ्जालबाटै अवार्डको घोषणा गरेका हुन् । कर्पोरेशनका अध्यक्ष लामिछाने तेस्रो संस्करणको तयारी र फिल्ड भिजिटका लागि अमेरिकामा रहेका छन् ।

पहिलेको संकरणमा झैँ अवार्डको औपचारिक जानकारी र फर्म खुल्ला काठमाडौंमा गरिने छ । उत्कृष्ट ३ मनोनयनमा परेका कलाकार तथा चलचित्रकर्मीलाई जापानको टोकियोमा नोमिनेशन प्रमाणपत्र सार्वजनिक गरिनेछ । त्यसैगरी त्यसको केही सातापछि अर्थात नेपाली नयाँ वर्षको अवसर पारी २०२१ मा यो अवार्ड समारोह अमेरिकामा भव्य रुपमा सम्पन्न गरिने छ ।

अवार्ड समारोह संगीत तर्फ ६ विधा र चलचित्र तर्फ ६ विधा राखिएको छ । जसमा चलचित्रतर्फ उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, सह-अभिनेता र सह-अभिनेत्री समावेश छन्, भने संगीत तर्फ पप, आधुनिक र लोक गरि ६ विधा रहने छन् । यस्तै, अवार्ड समारोहमा दुई दशक लामो चलचित्र यात्रा तय गरेका एक चलचित्रकर्मीलाइ लाइफटाइम एचिभमेन्ट अवार्ड, एक जनालाई चलचित्रकर्मी सम्मान र एक दशक निरन्तर चलचित्र पत्रकारिता गरेका पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिनेछ।

नेपाली कला संस्कृतिको प्रवर्द्धन तथा नेपाली गीत संगीत र चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुराउन पनि सूर्य कर्पोरेशनले सूर्य अवार्डलाई अगाडि सारेको अध्यक्ष लामिछानेले बताए । नेपाली चलचित्र क्षेत्रलाई नेपालसँगै अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचारप्रसार र टेवा पुग्ने गरि अहिलेको अवस्थालाई अध्ययन गरेर अवार्डको तेश्रो संस्करण अमेरिकामा गर्न लागिएको संयोजक समीर बलामीले बताएका हुन् ।

प्रकाशित : २ पुस २०७७, बिहिबार ००:००