Breaking News Post

रास्वपालाई सांसद राईले दिए देउसी आशिष्- पाँचै वर्ष टिक्नू, आफैँले आफ्नो सरकार नढाल्नू


१६ आश्विन २०८३, शुक्रबार ००:००


१६ असोज, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारलाई सत्ता र सरकार जोगाएर पाँचै वर्ष शासन गर्न शुभकामना दिएका छन् । वर्षे अधिवेशनको समीक्षा गर्दै उनले उत्साहका साथ निर्वाचन क्षेत्र जान सकिने अवस्था नरहेको बताए ।

शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै समय लिएर बोल्दै उनले दुई तिहाइ बहुमतको सरकारको कामकारबाहीमाथि प्रश्न उठाउनुपर्ने अवस्था आइलागेको भनेर प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गरे ।

पटक–पटक खोज्दा पनि प्रधानमन्त्रीलाई संसद्‍मा पाउन नसकेको भनेर उनले फेरि त्यस्तो वातावरण अर्को अधिवेशनमा नबनोस् भनेर आग्रह गरे ।

उनले भनेका छन्, ‘सूचना पाए अनुसार अधिवेशन अन्त्य हुँदैछ । यतातिर उफ्रिँदै उफ्रिँदै प्रधानमन्त्री ल्याउ ल्याउ भन्दै उफ्री हिँडेको पनि अहिले जस्तो लाग्छ तर चार/पाँच महिना बितिसकेको छ ।’

उनी थप्छन्, ‘अधिवेशनमा त यस्तै उस्तै भयो । यो भोटेकुरसी सँगै हाम्रो नराम्रो कामहरू, हाम्रो सरकारको नराम्रो कामहरू, सदनको नराम्रो कामहरू बगेर जाओस् ।’

यस्तो आग्रह गर्नेक्रममा उनले आउँदै गरेका नेपाली चाडपर्व सम्झिए । अधिवेशन अवधिभर आफूहरूले जनताका प्रश्नहरू उठाएको स्मरण गरे । तर सरकार प्रमुखबाट जवाफ पाउन नसकेको बताए ।

‘देउसीले भने जस्तै म भन्छु, यो साल यस्तै भो । अर्को साल आउँदा सुनको छाना भने जस्तै आशीर्वाद दिनुपर्ने भयो । प्रतिपक्षमा एक जना उभिएको म सांसद भएको हिसाबले सरकारले प्रतिपक्षलाई सही ढंगबाट हिँडाउन सकोस् । हामीलाई. सम्हालेर अगाडि बढ्न सकोस् । जनताहरूको आवाजहरूको उत्तरहरू प्राप्त गर्न सकोस् । अर्को अधिवेशन आउँदाखेरि यो सरकार र सत्ता पक्षको साथीहरूलाई म यो भन्न चाहन्छु,’ उनले भने ।

रास्वपाभित्र विवाद रहेको भन्ने सुनिएको भन्ने पनि उनले बताए । अनि पाँचै वर्ष टिक्न शुभकामना दिए ।

आफू एउटा राजनीति शास्त्रको विद्यार्थी भएको बताए । नेपालको इतिहासमा १५ सालमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत पाएको स्मरण गरे । २०६४ सालमा. तत्कालीन नेकपा माओवादीले बहुमत प्राप्त गरेको बताए ।

उनले भनेका छन्, ‘अहिले त्यतिकै शक्तिशाली रूपमा छ । यो शतिले सरापेको देश भनिएको छ । जोगिनु होला युवा साथीहरू हुनुहुन्छ । तपाईं हामीले प्राप्त गर्नुपर्ने केही छैन तर पनि सत्ता जगाएर, सरकार जगाएर पाँचै वर्षसम्म टिकाउनु भयो भने तपाईं हामीले अथवा जनताले आशा गरेको जस्तो हुनेछ । म यो सदनमा यहाँहरूलाई शुभकामना दिन चाहन्छु, सकारात्मक ढंगबाट तपाईंहरू अगाडि बढ्नुस् ।’

कतिपय विषयमा मन्त्रीहरूले जवाप दिएको तर प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ नआएको बताए ।

‘सरकार प्रमुखलाई नै दिएको प्रश्नहरूको उत्तरहरू हामीले धेरै पाएनौं । जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौं । त्यसको उत्तर हरू पाएनौं’ उनले भने, ‘म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूसमक्ष रित्तै फर्किदै छु भनेर भन्नु पर्ने बाध्यता छ । भोजपुरे जनताहरूको घर आगनसम्म म फर्किदै छु । तर उत्साहका साथ फर्केको छैन,’ उनले भने ।

सांसदको गन्तीमा मात्रै दुई तिहाइ नजिकको सरकार भएको पनि दोहोर्‍याए ।

‘मलाई यो डर लागिरहेको छ, हिजो गत वर्षको २३ र २४ भदौको आन्दोलन तिर । पुरानो दल भनिएको नेताहरूको एक्टिभिटिजको कारणले भ्रष्टाचार गर्यो, धेरै पैसा कमायो भनेर त्यो बेला घरहरू जलेको थियो । अब हामीले हाम्रो घरहरू जगाउन निकै मुस्किल पर्ला कि !’ उनले भने ।

संसद्को चालु अधिवेशनको गतिविधिहरूले आफूलाई यस्तो डर लाग्ने बनाएको बताए ।

‘हेलाचेक्र्याइ गर्नुहुन्न यो बहुदलीय प्रतिस्पर्धाको, बहुदलीय एउटा अभ्यासको यो सदनको अभ्यास हो । यहाँ प्रतिपक्ष र सत्तापक्षले आफ्नो कुरा राख्ने र सत्तापक्षलाई सहज अगाडि बढाउने कुरामा सजग गराउँदै अगाडि बढाउने हो,’ उनले भने ।

अर्को अधिवेशन आउँदा धेरै व्यवहार सुधार होस् भनेर फेरि शुभकामना दिए ।

‘म सभामुख मार्फत सरकारका प्रमुख लगायत सरकारलाई भन्न चाहन्छु, फेरि तीन महिनापछि हाम्रो भेट होस् । तपाईंहरू आफैंले आफ्नो सरकार नढाल्नु होला,’ उनले भने, ‘यिनै यिनै शुभकामनाहरू दिँदै फेरि भन्छु– अबको सदनमा सम्माननीय सभामुखज्यूलाई अहिलेको जस्तो बोलाउनुपर्ने वातावरण नै नबनोस् । हामी त्यस्तो ढंगबाट अगाडि बढ्नुपर्ने अभिव्यक्तिहरू नआओस् ।’

प्रकाशित : १६ आश्विन २०८३, शुक्रबार ००:००