Breaking News Post

किशोर श्रेष्ठ र हिमेश पन्तबिच छलफल टुंगिएन, अर्को पटक फेरि बोलाइने


१ कार्तिक २०८३, शनिबार ००:००


काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तबिचको छलफल सकारात्मक भएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले भने,’उहाँहरू अहिले जानुहुन्छ, दसैँपछि अर्को चरणमा फेरि छलफल हुनेछ । आजको छलफल सकारात्मक भएको छ ।’

आफू र आफ्नो परिवारविरुद्ध जथाभावी लेखेर चरित्रहत्या गर्न खोजेको भन्दै पन्तले श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए । त्यस आधारमा ब्युरोले दुवै पक्षलाई बोलाएर छलफल गराएको हो । पन्त र उनको परिवारले अरूको जग्गा हडपेको दाबीसहित श्रेष्ठले समाचार प्रकाशन गरेपछि उनीहरूबिच केही समयदेखि सामाजिक सञ्जालमा दोहोरी तथा विवाद चल्दै आएको थियो ।

सोही विवादलाई लिएर पन्तले साइबर ब्युरोमा उजुरी दर्ता गराएका थिए । 

उजुरीमाथि छलफलका लागि ब्युरोको टोली आज बिहान श्रेष्ठलाई लिन ललितपुरको नख्खुस्थित उनकै निवासमा पुगेको थियो । 

ब्युरोको कार्यालयमा दुई पक्षबिच करिब तीन घण्टा लामो छलफल चलेको थियो । दुवै पक्षलाई पछि बोलाइने अवस्थीले बताए । 

प्रकाशित : १ कार्तिक २०८३, शनिबार ००:००