Breaking News Post

चाडपर्वमा अनलाइन ठगीको जोखिम उच्च, सर्वसाधारण र वित्तीय संस्थालाई सतर्क रहन राष्ट्र बैंकको आग्रह


१ कार्तिक २०८३, शनिबार ००:००


काठमाडौं । दसैँ-तिहार नजिकिएसँगै डिजिटल माध्यमबाट हुने अनलाइन वित्तीय ठगीको जोखिम उच्च बनेको भन्दै नेपाल राष्ट्र बैंकले आम नागरिक तथा वित्तीय सेवा प्रदायकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । बैंकिङ कारोबार विश्लेषणका क्रममा अनलाइन ठगीका घटनाहरूमा वृद्धि भएको पाइएपछि राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले सूचना जारी गर्दै चाडपर्वका बेला अनलाइन खाता सिर्जना, डिजिटल बैंकिङ, ई-कमर्स र डिजिटल भुक्तानीको प्रयोग व्यापक हुने मौका छोपी आपराधिक समूहहरू सक्रिय हुन सक्ने चेतावनी दिएको हो ।

चाडपर्वको मौका छोपेर आपराधिक समूहहरूले सामाजिक सञ्जालमा ‘दसैँ धमाका’, ‘तिहार-छठ बम्पर उपहार’ तथा चिट्ठा परेको भन्दै नक्कली लिङ्क पठाएर कर वा सेवा शुल्कका नाममा अग्रिम रकम असुल्ने गरेको पाइएको इकाईले जनाएको छ ।

त्यसैगरी, बैंक तथा डिजिटल वालेटका नक्कली वेबसाइट बनाई केवाइसी अपडेट नगरे खाता बन्द हुने डर देखाएर ओटिपी, पासवर्ड र व्यक्तिगत विवरण चोर्ने (फिसिङ), सामाजिक सञ्जालमा नक्कली ई-कमर्स पेज खोलेर अग्रिम भुक्तानी लिएपछि ग्राहकलाई ब्लक गर्ने तथा अरूको कागजात र तस्बिर दुरुपयोग गरी नक्कली खाता खोलेर आपराधिक गतिविधि सञ्चालन गर्ने प्रवृत्ति देखिएको छ ।

अनलाइन ठगीबाट जोगिन वित्तीय जानकारी इकाईले सर्वसाधारण तथा उपभोक्ताहरूलाई आफ्नो मोबाइलमा आउने ओटिपी, बैंक खाताको पासवर्ड तथा वालेटको पिन कसैसँग पनि शेयर नगर्न स्पष्ट पारेको छ । साथै, सामाजिक सञ्जालमा आउने ‘फ्री रिचार्ज’, ‘चिट्ठा’ वा ‘उपहार’ दाबी गरिएका शङ्कास्पद लिङ्कहरू नखोल्न, अनलाइन सामान खरिद गर्दा आधिकारिक र भरपर्दो वेबसाइट मात्र प्रयोग गर्न, अपरिचित पेजहरूबाट खरिद गर्दा ‘पे अन डेलिभरी’ को विकल्प रोज्न र डिजिटल भुक्तानी गर्नुअघि वेबसाइटको आधिकारिकता जाँच्न सर्वसाधारणलाई सुझाएको छ ।

यसैगरी, बैंक तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकहरूलाई पनि सम्भावित जोखिम न्यूनीकरणका लागि कडा कदम चाल्न निर्देशन दिइएको छ । डिजिटल माध्यमबाट खाता खोल्दा पेस गरिएका परिचय विवरणहरूको सशक्त ग्राहक पहिचान गर्न, एउटै ठेगाना वा मोबाइल नम्बरबाट विभिन्न नाममा खाता खोलिएको भए लामो सार्वजनिक बिदाको समयमा समेत ‘रेड फ्ल्याग’ संयन्त्रमार्फत निरन्तर निगरानी गर्न आग्रह गरिएको छ ।

यसका साथै, अस्वाभाविक नगद ट्रान्सफर र लेयरिङजस्ता शङ्कास्पद कारोबार पहिचान गर्न ट्रान्ज्याक्सन मोनिटरिङ सिस्टम चुस्त राख्न तथा कर्मचारी र ग्राहकहरूलाई यसबारे सचेत गराउन भनिएको छ ।

इकाईले कुनै पनि अनलाइन ठगीमा परेमा वा परिचय दुरुपयोग भएको शङ्का लागेमा ढिला नगरी तत्काल सम्बन्धित बैंक, वित्तीय संस्था वा डिजिटल वालेट प्रदायकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी आफ्नो खाता रोक्का गराउन आग्रह गरेको छ । साथै, घटनाबारे नेपाल प्रहरीको साइबर ब्युरो वा नजिकैको जिल्ला प्रहरी परिसर तथा कार्यालयमा तुरुन्त जानकारी गराउन समेत सूचित गरिएको छ ।

प्रकाशित : १ कार्तिक २०८३, शनिबार ००:००