१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकको नाफा ३ अर्ब रुपैयाँभन्दा धेरैले बढेको छ । निरन्तर बढ्दो विदेशी विनिमय सञ्चितिबाट भएको ब्याज आम्दानीमा सुधार आएसँगै खुद नाफा बढेको हो ।
रेमिट्यान्स र आयातमा आएको सुधारसँगै विदेशी विनिमय सञ्चितिले निरन्तर नयाँ कीर्तिमान बनाउँदै आएको छ । त्यसले विदेशी मुद्राबाट हुने ब्याज आम्दानीमा आएको उच्च सुधारले केन्द्रीय बैंकको नाफा करिब ४ प्रतिशत बढेको हो ।
गत आर्थिक वर्ष २०८२/८३ मा राष्ट्र बैंकले ८३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३.८४ प्रतिशतले धेरै हो । अघिल्लो आवमा केन्द्रीय बैंकले ८० अर्ब ४८ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
गत आव केन्द्रीय बैंकले विदेशी मुद्राको खुद ब्याज आम्दानी १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ गरेको छ । यो अघिल्लो आव सोही अवधिको तुलनामा २३ प्रतिशत बढेको छ । अघिल्लो आव विदेशी मुद्राको खुद ब्याज आम्दानी ९४ अर्ब ८१ करोड रुपैयाँ थियो।
अघिल्लो आवको तुलनामा गत आवमा ब्याज आम्दानी बढ्नुको मुख्य कारण विदेशी विनिमय सञ्चितिमा आएको वृद्धि हो । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशत वृद्धि भई २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड पुगेको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता समस्या कायम रहँदा केन्द्रीय बैंकको स्वदेशी मुद्राको ब्याज आम्दानी भने घटेको छ । त्यसैगरी गत आव केन्द्रीय बैंकको स्वदेशी मुद्रामा हुने खुद ब्याज आम्दानी २२ अर्बले नकारात्मक छ । अघिल्लो आव ७ अर्ब ७६ करोड नोक्सानीमा थियो ।
केन्द्रीय बैंकले गत आव सुनचाँदीको मूल्यमा आएको परिवर्तनबाट ७१ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेको छ । त्यसैगरी विदेशी विनिमयमा आएको उतारचढावका कारण २ खर्ब ५४ अर्ब ८३ करोड रुपैयाँ नाफा भएको केन्द्रीय बैंकले जनाएको छ ।
तर, यो नाफा केन्द्रीय बैंकले पाइसकेको भने छैन । सम्पत्ति र त्यसको मूल्यांकनका आधारमा एक वर्ष अवधिमा विदेशी विनिमय तथा सुनचाँदी मूल्यमा भएको उतारचढावबाट भएको लाभ हो । त्यो नाफा नगदमा परिवर्तन भने भइसकेको छैन ।
केन्द्रीय बैंकले ८३ अर्ब ५६ करोड खुद नाफाबाट मौद्रिक सञ्चिति दायित्व, वित्तीय स्थायित्व दायित्व सञ्चिति, खुला बजार स्थिरीकरण कोष, बैंकिङ विकास कोष, सुन प्रतिस्थापन कोष लगायत सञ्चिति कोषमा कानुन अनुसार तोकिएको रकम राखेपछि बाँकी रकम सरकारलाई दिन्छ ।
सबै सञ्चिति रकम छुट्याएपछि केन्द्रीय बैंकको नाफा ४२ अर्ब बाँकी छ । उक्त नाफा नेपाल सरकारलाई हस्तान्तरण गर्ने निर्णय पनि केन्द्रीय बैंक सञ्चालक समितिले गरिसकेको छ ।
सोमबार बसेको केन्द्रीय बैंक सञ्चालक समितिले निर्णय गरी गत आवको नाफाबाट सरकारलाई ४२ अर्ब हस्तान्तरण गर्ने निर्णय गरेको हो । अघिल्लो आव पनि केन्द्रीय बैंकले सरकारलाई ४२ अर्ब नै नाफा हस्तान्तरण गरेको थियो ।
२०८२/८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत छ । २०८१/८२ मा वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत थियो । २०८२/८३ मा कुल वस्तु निर्यात १३.८ प्रतिशत वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड र कुल वस्तु आयात १६.२ प्रतिशत वृद्धि भई २० खर्ब ९६ अर्ब ३८ करोड पुगेको छ ।
२०८२/८३ मा चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड र शोधनान्तर १० खर्ब २७ अर्ब ४ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । २०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर कायम भएको छ ।
२०८३ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।
२०८२/८३ मा नेपाल सरकारको अन्य प्राप्तिसमेत गरी १२ खर्ब ४१ अर्ब ३२ करोड राजस्व संकलन भएको छ । कुल सरकारी खर्च १५ खर्ब ८२ अर्ब १७ करोड छ ।
गत आव विस्तृत मुद्राप्रदाय १३.४ प्रतिशत र संकुुचित मुद्राप्रदाय १७.९ प्रतिशत बढेको छ । त्यसैगरी कुल आन्तरिक कर्जा २.१ प्रतिशत तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.६ प्रतिशत बढेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८३ असार मसान्तसम्म ३ खर्ब ६९ अर्ब ५५ करोड कर्जा र १८ खर्ब ५७ अर्ब १७ करोड निक्षेप सुरक्षण गरेको केन्द्रीय बैंकले जनाएको छ ।
कर्जा सूचना केन्द्रबाट गत आव २० वाणिज्य बैंक, १ पूर्वाधार विकास बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी, ५० लघुवित्त वित्तीय संस्था र १० हायर पर्चेज कम्पनीले जम्मा ६७ लाख ४ हजार ३ सय ५० कर्जासम्बन्धी सूचना माग गरेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रमा २०८३ असार मसान्तमा कालोसूचीमा सूचीकृत ऋणी संख्या १ लाख ७० हजार ७ सय ९३ छ ।
२०८३ असार मसान्तमा यस बैंकको विदेशी विनिमय सञ्चिति लगानी अमेरिकी डलरमा २३ अर्ब १३ करोड छ । विदेशी विनिमय सञ्चिति लगानीलाई विभिन्न बैंकमा आवधिक निक्षेप, सुन, केन्द्रीय बैंकबाट जारी हुने ट्रेजरी बिल्स, नोट्स तथा बन्ड्स, बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सले जारी गरेका उपकरणमा केन्द्रित गरेको केन्द्रीय बैंकले जनाएको छ ।
गत आव ४६ अर्ब १० करोड १५ लाख बराबर विभिन्न दरका ८ करोड ४२ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीका लागि निष्कासन गरिएका थिए । २०८३ असार मसान्तसम्ममा कुल ८ खर्ब ७ अर्ब ६९ करोड बराबर विभिन्न दरका नोट चलनचल्तीमा छन् ।
२०८३ असार मसान्तको वित्तीय अवस्था विवरण अनुसार केन्द्रीय बैंकको सम्पत्ति तथा दायित्व २०८२ असार मसान्त तुलनामा ४५.०६ प्रतिशतले बढेको छ ।
गत असारमा बैंक सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार पुगेको छ । २०८२/८३ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ३.८४ प्रतिशतले वृद्धि भई ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार पुगेको केन्द्रीय बैंकले जनाएको छ ।











प्रतिक्रिया