समाचार

किधासाउसं दुबईको आयोजनामा १४२औँ फाल्गुनन्द जयन्ती मनाईयो


११ मंसिर २०८३, बिहिबार ००:००


दुबई, यूएई 
किरात धर्मदर्शनका महान् प्रवर्तक, १६औँ राष्ट्रिय विभूति तथा महान् समाजसुधारक महागुरु मुहिङ्गुम अङ्सीमाङ फाल्गुनन्द लिङ्देनज्यूको १४२औँ जन्मजयन्ती संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भव्य रूपमा सम्पन्न भएको छ।
सन् २०२६ नोभेम्बर १ तारिख आइतबारका दिन बर दुबईस्थित याक एन्ड यति एभरेस्ट क्लब हलमा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति यूएईको आयोजनामा शुभकामना आदानप्रदान, भाग्यशाली चिठ्ठा (लक्की ड्र) उद्घाटन तथा बृहत् सांस्कृतिक एवं सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो।
नेपालबाट आमन्त्रित विशेष अतिथि राष्ट्रिय कलाकार तथा चर्चित गायिका गङ्गा फियाकको विशेष सांगीतिक प्रस्तुतिसहित स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण र मनोरञ्जनात्मक बनाएको थियो।
संघकी अध्यक्ष सुश्री शिवरात्री नाल्बोको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य संघीय लिम्बुवान सामाजिक मञ्च यूएईका उपाध्यक्ष श्री लक्किराज बेघाले गर्नुभएको थियो। कार्यक्रममा श्रम संस्कृति प्रवास यूएईका अध्यक्ष श्री बेता घिसिङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो

दीप प्रज्वलन तथा धार्मिक अनुष्ठानबाट कार्यक्रमको शुभारम्भ
कार्यक्रममा उपस्थित अतिथिहरूलाई आसन ग्रहण गराएपछि प्रमुख अतिथि, सभापति तथा अन्य विशिष्ट अतिथिहरूको सामूहिक हस्तबहुलीबाट दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय गानसँगै औपचारिक कार्यक्रमको शुभारम्भ गरिएको थियो।
त्यसपछि किरात धार्मिक मुन्धुम परम्पराअनुसार माङसेवा तथा धार्मिक अनुष्ठान सम्पन्न गरिएको थियो। माङसेवा साबा प्रमुख श्री दिलिप हाङ आङ्देम्बे र माङसेवा साबा श्री राज येक्तेनज्यूले धार्मिक पूजापाठ तथा अनुष्ठान सम्पन्न गर्नुभएको थियो। अनुष्ठानपश्चात् माङसेवा साबा प्रमुखको हस्तबहुलीबाट माङ टीका ग्रहण गर्ने कार्यक्रमसमेत सम्पन्न भएको थियो।
नेपालबाट आमन्त्रित विशेष अतिथि राष्ट्रिय कलाकार गायिका गङ्गा फियाकलाई मौलिक किराती परम्पराअनुसार केलाङ कलाकारहरूको केलाङ प्रस्तुतिमार्फत स्वागत गर्दै अतिथि आसन ग्रहण गराइएको थियो।

स्वागत मन्तव्य तथा महागुरुको योगदानको चर्चा
आयोजक समितिको तर्फबाट संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्री बिराज केरुङ (मायालु कान्छा) ले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो।
स्वागत मन्तव्यपछि संस्थाका सदस्यहरू सुश्री अबिना सम्बाहाम्फे र एलिनज्यूले आकर्षक स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी संस्थाका सहसचिव तथा प्रवक्ता श्री हेम फोम्बो लिम्बूले महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४२औँ जन्मजयन्तीको अवसरमा शुभकामना मन्तव्य राख्दै उहाँको जीवन, दर्शन, सामाजिक सुधार अभियान तथा किरात समाज, याक्थुङ लिम्बू समुदाय, लिम्बुवानवासी र समग्र राष्ट्रका लागि पुर्‍याउनुभएको ऐतिहासिक योगदानबारे प्रकाश पार्नुभएको थियो।
यसै क्रममा संस्थाका प्रमुख संरक्षक श्री बिक्रम वाजिहाङ साम्माङ, सल्लाहकार श्री पोबो थेबे सेमि तथा सल्लाहकार श्री लोकेन्द्र पालुङ्वाज्यूले समेत शुभकामना मन्तव्य राख्दै महागुरुको विचार, दर्शन, सत्य, अहिंसा, नैतिकता, शिक्षा र सामाजिक सुधारका अभियानलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूएईका वरिष्ठ उपाध्यक्ष श्री गोबिन्द लुम्फुङ्वा, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति यूएईका प्रमुख संरक्षक, सल्लाहकार तथा पदाधिकारीहरूका साथै विभिन्न जातीय, धार्मिक तथा जिल्ला संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।
उपस्थित संस्थाहरूमा आदिवासी जनजाति महासंघ यूएई, याक्थुङ सयङ सङ्जुम्भो अबुधाबी, थुप्पोको थेबे लिम्बू समाज यूएई, फागो वनेम समाज यूएई, श्रम संस्कृति प्रवास यूएई, किरात राई यायोक्खा यूएई, ताप्लेजुङ सेवा समाज यूएई, पाँचथर समाज यूएई, तेह्रथुम समाज यूएई, पथरी शनिश्चरे समाज यूएई, इलाम समाज यूएई, सुनुवार समाज यूएई, ओम एन्ड ग्राफिक्स तथा हिन्दु जागरण समाज यूएईलगायत विभिन्न संघसंस्थाका उच्च पदस्थ प्रतिनिधिहरू सहभागी भएका थिए।
उक्त उपस्थितिले विदेशमा रहेर पनि आफ्नो मौलिक धर्म, संस्कृति, भाषा, परम्परा र सामाजिक एकतालाई संरक्षण तथा प्रवर्द्धन गर्न नेपाली समुदायबीच रहेको सामूहिक भावना र प्रतिबद्धतालाई उजागर गरेको थियो।

स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति

कार्यक्रमको बीचबीचमा विभिन्न सांगीतिक प्रस्तुति तथा नृत्यहरू प्रस्तुत गरिएका थिए। गायक सुन्दर योङहाङ, अम्बिका नुगो लिम्बू, मिलन बोम्जनलगायत कलाकारहरूले आ-आफ्नो सुमधुर स्वरमार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो।
त्यसैगरी नृत्यतर्फ मनिषा खाम्दाक इङ्गासा, होम रजली मगरलगायत अन्य कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो।
नेपालबाट विशेष रूपमा आमन्त्रित राष्ट्रिय कलाकार, स्वरकी धनी तथा चर्चित गायिका गङ्गा फियाकको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप उचाइमा पुर्‍याएको थियो। उहाँका लोकप्रिय गीतहरूमा दर्शकहरूले हुटिङ, ताली र नृत्यमार्फत उत्साहजनक साथ दिएका थिए। उहाँको सुमधुर आवाज र आकर्षक प्रस्तुतिले कार्यक्रम हल नै संगीतमय बनेको थियो।

प्रमुख प्रायोजक तथा सहयोगी संस्थाहरूलाई सम्मान

कार्यक्रमलाई सफल बनाउन प्रमुख प्रायोजकका रूपमा किरात याक्थुङ चुम्लुङ यूएई, संघीय लिम्बुवान सामाजिक मञ्च यूएई, थुप्पोको थेबे समाज यूएई तथा याक्थुङ सयङ सङ्जुम्भो यूएईले महत्वपूर्ण सहयोग पुर्‍याएका थिए।
कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण प्रायोजक तथा सहयोगीहरूलाई आयोजक समितिको तर्फबाट मायाको चिनो हस्तान्तरण गरी सम्मान गरिएको थियो।

भाग्यशाली चिठ्ठामा एकै व्यक्तिलाई प्रथम र तृतीय पुरस्कार
कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा भाग्यशाली चिठ्ठा (लक्की ड्र) पनि सञ्चालन गरिएको थियो। चिठ्ठामा तीनवटा आकर्षक नगद पुरस्कार राखिएको थियो।
प्रथम पुरस्कार: नेपाली रुपैयाँ १ लाख ५ हजार,द्वितीय पुरस्कार: नेपाली रुपैयाँ ५५ हजार,तृतीय पुरस्कार: नेपाली रुपैयाँ ३५ हजार रहेको थियो।
चिठ्ठाको नतिजाअनुसार तृतीय पुरस्कार नेपालबाट हालै यूएई आइपुग्नुभएकी पाहुना सुश्री रेचल लामाले हात पार्नुभएको थियो।
त्यसैगरी द्वितीय पुरस्कार श्रम संस्कृति प्रवास यूएईले प्राप्त गरेको थियो।
सबैभन्दा रोचक पक्ष त के रह्यो भने प्रथम पुरस्कार पनि सुश्री रेचल लामाले नै जित्न सफल हुनुभयो। यसरी एउटै भाग्यशाली सहभागी रेचल लामाले प्रथम र तृतीय दुवै पुरस्कार हात पार्नुभएको थियो। उहाँको यो सफलताले कार्यक्रममा थप उत्साह र खुसीको वातावरण सिर्जना गरेको थियो। दुवै पुरस्कार विजेतालाई आयोजक समितिले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको थियो।

अध्यक्षको समापन मन्तव्यसँगै कार्यक्रम सम्पन्न
कार्यक्रमको अन्त्यमा संस्थाकी अध्यक्ष तथा कार्यक्रमकी सभापति सुश्री शिवरात्री नाल्बोले समापन मन्तव्य राख्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, प्रायोजक, कलाकार, संस्थाका पदाधिकारी, स्वयंसेवक तथा सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन संस्थाका सचिव श्री दिनेश योङहाङ लिम्बूले गर्नुभएको थियो भने सहसचिव तथा प्रवक्ता श्री हेम फोम्बो लिम्बूले सहजीकरण गर्नुभएको थियो।

विदेशमा पनि महागुरुको दर्शन र किरात संस्कृतिको संरक्षणमा प्रतिबद्धता
समग्रमा महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४२औँ जन्मजयन्तीको अवसरमा आयोजित यस कार्यक्रमले यूएईमा रहेका किरात धर्मावलम्बी तथा नेपाली समुदायबीच धार्मिक, सांस्कृतिक र सामाजिक एकतालाई थप मजबुत बनाएको छ।
महागुरुले प्रतिपादन गर्नुभएको सत्य, अहिंसा, नैतिकता, मानवता, सामाजिक सुधार र सभ्य समाज निर्माणको सन्देशलाई आत्मसात् गर्दै उहाँको ऐतिहासिक योगदान र किरात धर्मदर्शनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा कार्यक्रम स्थापित भएको छ।विदेशी भूमिमा रहेर पनि आफ्नो मौलिक धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

१६औँ राष्ट्रिय विभूति महागुरु मुहिङ्गुम अङ्सीमाङ फाल्गुनन्द लिङ्देनज्यूको १४२औँ जन्मजयन्तीको अवसरमा सम्पूर्ण किरात धर्मावलम्बी तथा शुभेच्छुकहरूमा हार्दिक सेवारो!
ओत तागेरा निङ्वाभुमाङे सेवारो! 🙏

पुरा भिडियोसहित

प्रकाशित : ११ मंसिर २०८३, बिहिबार ००:००